सेयर बजार घट्दा २० वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात २० गुणाभन्दा तल झर्‍यो

0
Shares

नेप्से निरन्तर ओरालो लागेर अधिकतम बिन्दुबाट करिब ४० प्रतिशतले घटेपछि सूचीकृत २६ वाणिज्य बैंकमध्ये २० वटा बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो)२० गुणाभन्दा तल झरेको छ ।

यस अवधिमा ६ वाणिज्य बैंकको मात्र मूल्य आम्दानी २० गुणाभन्दा माथि रहेको छ । जेठ २४ गते मंगलबारको अन्तिम कारोबार मूल्य र चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण (विसं २०७८ चैत मसान्त) का आधारमा यस्तो देखिएको हो ।

 

तथ्याङ्क अनुसार सबैभन्दा धेरै पीई रेसियो नबिल बैंकको छ । वार्षिक प्रतिसेयर आम्दानी २४.१६ रुपैयाँ रहेको बैंकको मंगलबारको कारोबार मूल्य अनुसार ३४.४२ गुणा पीई छ । दोस्रो ठूलो पीई रहेको नेपाल बंगलादेश बैंकको २७.१८ गुणा छ । यद्यपी बैंक नबिल बैंकसँग एक्वीजिशन प्रकृयामा रहेकाले कारोबार रोक्का रहेको छ । दुई बैंकबीच २०७८ पुस २९ गते सम्झौता भएको थियो ।

पीई २० गुणाभन्दा बढी हुने अन्य बैंकहरुमा कृषि विकास बैंक २२.६४ गुणा, हिमालयन बैंक २२.५८ गुणा, लक्ष्मी बैंक २१.३७ गुणा र एभरेष्ट बैंकको २१.१२ गुणा छ । बाँकी सबै बैंकको पीई २० गुणाभन्दा कम छ ।

S.N. Symbol Price EPS PE
1 NCCB 203.00 17.80 11.40
2 MBL 246.20 20.16 12.21
3 KBL 201.50 16.33 12.34
4 GBIME 259.20 20.87 12.42
5 SRBL 210.10 16.83 12.48
6 PRVU 233.00 18.39 12.67
7 NMB 258.10 19.35 13.34
8 MEGA 225.00 16.65 13.51
9 PCBL 265.00 19.45 13.62
10 CCBL 196.90 14.17 13.90
11 NBL 287.60 20.29 14.17
12 CZBIL 217.00 14.92 14.54
13 SANIMA 280.50 18.73 14.98
14 CBL 200.00 13.28 15.06
15 SBL 335.50 22.23 15.09
16 NIB 274.10 18.04 15.19
17 SBI 293.70 17.64 16.65
18 NICA 708.90 41.56 17.06
19 SCB 401.00 23.03 17.41
20 BOKL 215.50 10.92 19.73
21 EBL 451.00 21.35 21.12
22 LBL 211.80 9.91 21.37
23 HBL 323.10 14.31 22.58
24 ADBL 328.90 14.53 22.64
25 NBB 399.00 14.68 27.18
26 NABIL 831.50 24.16 34.42
Industry Standards 309.89 18.45 16.81

 

अठार बैंकको सेयरमूल्य ३०० भन्दा कम

बजारको उच्च गिरावटका कारण २६ मध्ये १८ बैंकको प्रतिकित्ता सेयरमूल्य ३०० रुपैयाँभन्दा तल झरेको छ । सबैभन्दा कम सेयरमूल्य रहेको सेञ्चुरी बैंकको १९६.९० रुपैयाँ हुँदा सबैभन्दा धेरै सेयरमूल्य रहेको नबिल बैंकको ८३१.५० रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बैंकको सेयरमूल्य ७०८.९०, एभरेष्ट बैंक ४५१, स्ट्याण्डर्ड चार्टर्ड बैंक ४०१, नेपाल बैंकगलादेश बैंक ३९९, सिद्धार्थ बैंक ३३५.५०, कृषि विकास बैंक ३२८.९० र हिमालयन बैंकको ३२३.१० रुपैयाँ रहेको छ । बाँकी १७ बै.कको सेयरमूल्य २०० रुपैयाँभन्दा बढी तथा ३०० रुपैयाँभन्दा कम रहेको छ ।

S.N. Symbol EPS PE Price
1 CCBL 14.17 13.90 196.90
2 CBL 13.28 15.06 200.00
3 KBL 16.33 12.34 201.50
4 NCCB 17.80 11.40 203.00
5 SRBL 16.83 12.48 210.10
6 LBL 9.91 21.37 211.80
7 BOKL 10.92 19.73 215.50
8 CZBIL 14.92 14.54 217.00
9 MEGA 16.65 13.51 225.00
10 PRVU 18.39 12.67 233.00
11 MBL 20.16 12.21 246.20
12 NMB 19.35 13.34 258.10
13 GBIME 20.87 12.42 259.20
14 PCBL 19.45 13.62 265.00
15 NIB 18.04 15.19 274.10
16 SANIMA 18.73 14.98 280.50
17 NBL 20.29 14.17 287.60
18 SBI 17.64 16.65 293.70
19 HBL 14.31 22.58 323.10
20 ADBL 14.53 22.64 328.90
21 SBL 22.23 15.09 335.50
22 NBB 14.68 27.18 399.00
23 SCB 23.03 17.41 401.00
24 EBL 21.35 21.12 451.00
25 NICA 41.56 17.06 708.90
26 NABIL 24.16 34.42 831.50
Industry Standards 18.45 16.81 309.89

 

मूल्य आम्दानी अनुपात के हो ?

कम्पनीको तत्कालको सेयर मूल्यलाई पछिल्लो प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो भनेर बुझिन्छ।  धितोपत्रको दोस्रो बजारमा कारोवार भएका र नाफा कमाएका कम्पनीको मात्र मूल्य आम्दानी अनुपात निकाल्न सकिन्छ । घाटामा गएका कम्पनीहरुको मूल्य आम्दानी अनुपात निकाल्न सकिँदैन ।

कम्पनीले कमाएको एक रुपैयाँ बराबर आम्दानीको लागि लगानीकर्ताले कति तिर्न तयार हुन्छ भन्ने कुरालाई मूल्य आम्दानी अनुपातले देखाउँछ ।

जस्तै कुनै कम्पनीको अहिले बजार मूल्य ४०० छ र उसको प्रतिसेयर आम्दानी २५ छ भने बजारमूल्यलाई सो कम्पनीको आम्दानीले भाग गरेर निकालिन्छ । जस्तो ४००/२५ बराबर १६ गुणा अनुपात निक्लन्छ । यसको मतलब कम्पनीले कमाएको एक रुपैयाँ आम्दानी बराबर बजारमा लगानीकर्ताले १६ रुपैयाँ तिरिरहेको छ भन्ने बुझिन्छ ।

मूल्य आम्दानी अनुपातलाई बजारमा रहेका दुई कम्पनीबीच सेयर खरीद गर्दाको तुलना गर्ने एउटा महत्वपूर्ण औजारको रुपमा समेत प्रयोग गर्न सकिन्छ । यद्यपी मूल्य आम्दानी अनुपात कम्पनी छनौट गर्ने महत्वपूर्ण औजार भएता पनि दोस्रो बजारमा प्रवेश गर्दा भने बजारको ट्रेन्ड, सम्बन्धीत कम्पनीको ३६५ दिनको बजारमुल्य, देशको राजनीतिक तथा आर्थिक वातावरण, विश्व परिवेश, राजनीतिक घटनाक्रम, प्राविधिक तथा नीति नियममा भएका परिवर्तनको साथसाथै कम्पनी र बजारको बारेमा विस्तृत अध्ययन गरेर मात्र प्रवेश गर्नुपर्छ ।

सेयरमा लगानी गर्दा तुलनात्मक रूपमा कम मूल्य अनुपात भएका कम्पनी छनौट गर्नुपर्छ तर कम मूल्य अनुपात भएका कम्पनीप्रति लगानीकर्ताका विश्वास कम भएको रुपमा पनि बुझिन्छ । धेरै पीई रेसियो हुन भनेको कम्पनीको सेयर खरीदका लागि लगानीकर्ताले बढी मूल्य तिर्न तयार हुनु पनि हो ।

सामान्यतया मूल्य आम्दानी अनुपात १० देखि २० गुणासम्म भएको सेयर सही मूल्यांकन भएको मानिन्छ । शुन्य देखि १० गुणासम्म मूल्य आम्दानी अनुपात भएका सेयरहरु या त वास्तविक मूल्यभन्दा कम मूल्यांकन भएको मानिन्छ या हाल कम्पनीको आम्दानी अप्रत्यासित रूपमा वृद्धि भई उक्त अनुपात कम हुन गएको भन्ने बुझिन्छ ।

त्यसैगरी, २० देखि २५ गुणासम्म अनुपात भएका सेयर या त बढी मूल्यांकन भएका मानिन्छ या यसले भविष्यमा कम्पनीको आम्दानी उच्च हुने संकेत गर्दछ । २५ गुणाभन्दा माथि मूल्य आम्दानी अनुपात भएका सेयरहरु या त धेरै अनियमितता वा सट्टेबाजी गर्न खोजिएको मानिन्छ । बजारमा यस्ता सम्भावना छैन भने त्यस्ता कम्पनीको आम्दानी भबिस्यमा उच्च दरले वृद्धि हुने सम्भावना छ भन्ने बुझिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ जेठ २०७९, बुधबार  ०९ : ०३ बजे