सरकारले लिने नीतिले मुलुकको समृद्धि तथा आर्थिक विकासमा महत्वपूर्ण प्रभाव पार्छः ढकाल

0
Shares

आइएमई ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले सरकारले लिने सही नीतिले मुलुकको समृद्धि तथा आर्थिक विकासमा महत्वपूर्ण प्रभाव पर्ने बताएका छन् ।

आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै ढकालले आर्थिक विकासका लागि सरकारसँग मिलेर आफूहरु काम गरिरहेको उल्लेख गरे ।

उनले बजेटमा आएका विषयहरु कार्यान्वयनमा जाने हो भने देशको आर्थिक गतिविधि बढ्ने सुझाव दिए ।

कार्यक्रममा उनले एउटा कोठाबाट शुरु भएको आइएमई ग्रुपले ४० हजारलाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिने अवस्थामा पुगेको बताए । आफूहरुले संस्था सुरु गर्ने बेला विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले गरेको नीतिगत प्रावधानले सहज भएको उनले जानकारी दिए ।  अनौपचारिकरुपमा भित्रिँदै आएको विप्रेषण सुरुआती चरणमा आफूहरुकै पहल मार्फत औपचारिक रुपमा आउन थालेको तथ्य पेश गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने, “रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, रोजगारीको विकास र विस्तारका लागि प्रयोग गर्नुपर्छ ।” विदेशमा रहेका नेपालीहरुको साथका कारण क्षेत्रपाटीको एउटा कोठाबाट सुरु भएको आईमएई यो अवस्थासम्म आइपुग्दा खुसी लागेको बताए । सुरुवाती चरणमा अफिस, किचन र बेडरुमसमेत एकैठाउँमा राखेर सुरु गरेको उनले सम्झिए ।आईमएई यो सफलता आफ्नो परिवारको मात्र नभई आम नेपाली र विशेषगरीविदेशमा रहेका नेपालीहरुलाई श्रेय जाने उनले बताए ।

इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) लिमिटेडले पछिल्ला दिनमा वार्षिक रुपमा एक खर्ब वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्‍याएको छ । पछिल्ला दिनमा विप्रेषण भित्रनेक्रम पनि उत्तिकै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा मात्रै कूल ८ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । तर देशभित्र भित्रिएको विप्रेषण अनुत्पादक क्षेत्रमा मात्रै खर्च भइरहेको र त्यसले आर्थिक विकासमा ध्यान दिन नसकेको टिप्पणी भइरहेको छ ।

आइएमईले आफ्नो २२ औँ वार्षिकोत्सवका अवसरमा शनिबार बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो । केन्द्रीय कार्यालय पानीपोखारीबाट सुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २९ जेठ २०७९, आइतबार  १७ : २४ बजे