सरकारी नीति पूँजीबजारमैत्री बन्न नसक्दा नेप्से १८ महिनायताकै न्यून १९९६ बिन्दुमा झरेको छ । यसअघि २०७७ पुस १२ गते १९९८.६५ बिन्दुमा रहेको थियो ।
मंगलबार ३६ अंक सहित पछिल्लो चार दिनमा मात्रै नेप्से ८४ अंकले घटेको छ ।
निरन्तर घट्दै आएको नेप्से २१९ अंक घटेपछि जेठ २५ गते बुधबार नेप्से ६० अंकले बढेको थियो ।
उक्त दिन नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री शर्माले लगानीकर्ताको माग सम्बोधनका लागि सुझाव समिति गठन गर्ने र मौद्रिक नीति मार्फत ४.१२ को सीमा हटाउने बताएका थिए । तर त्यसपछि घट्न लागेको नेप्से मंगलबार सहित कुल ८४.१७ अंकले घटेको हो ।
नेप्सेका अनुसार मंगलबार सूचक दुई हजारभन्दा तल झरेको छ । मंगलबार नेप्से ३६.०८ अंकले घटेर सूचक १९९६.२५ अंकमा झरेको हो । यसदिन २३२ कम्पनीका ४१ लाख ४७ हजार २५५ कित्ता सेयर १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँमा खरिद बिक्री भएका छन् ।
कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक भएको बजारमा अन्य सूचक सर्वाधिक ३.४४ प्रतिशत र ब्यापार ३.१२ प्रतिशतले घटेको छ । विकास बैंक, जलविद्युत, फाइनान्स र निर्जीवन बीमा २ प्रतिशतभन्दा बढीले घटेको छ । सबैभन्दा कम घटेको बैंकिङ्ग ०.८९ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टस्को सर्वाधिक ४ करोड ६७ लाख बढीको सेयर कारोबार भएको छ । एनसीसी बैंक ३.७९ करोड, नेपाल लाइफ ३.३३ र नबिल बैंकको ३.२० करोडको सेयर खरीद बिक्री भएको छ । उपकार लघुवित्त, अरुण काबेली पावर, निफ्रा, अरुण भ्याली हाइड्रोपावर, शिखर इन्स्योरेन्स र एनआईसी एशिया बैंकको शीर्ष दश ठूलो कारोबार भएको छ ।
मंगलबारको बजारमा आधिँखोला लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.१८ प्रतिशतले बढेर ४४८.४० रुपैयाँ पुगेको छ । एनएमबि ५० को इकाईमूल्य ४.१० प्रतिशत र माउन्टेन हाइड्रोपावर नेपालको सेयरमूल्य ३.७२ प्रतिशतले बढेको छ ।
यसदिन हिमालयन पावर पार्टनरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेर बलेफी हाइड्रोपावरको ८.१५, सगरमाथा इन्स्योरेन्स ६.५१ प्रतिशत, ग्रीन भेञ्चर लिमिटेड ६.४५ र गणपति माइक्रोफाइनान्सको सेयरमूल्य ६.२४ प्रतिशतले घटेको छ । यसैगरी शिखर, प्रोगेशिभ फाइनान्स, युनाइटेड इन्स्योरेन्स, दिब्यश्वरी हाइड्रोपावर, र मल्टिपर्पस फाइनान्सको सेयरमूल्य ५ प्रतिशतभन्दा तल झरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया