आदर्श लघुवित्तको आईपीओमा २६६ गुणा बढी आवेदन

0
Shares

आदर्श लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा २६६ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइतबार बिहान १० बजेसम्ममा १४ लाख ७२ हजार ३४५ वटा आवेदन मार्फत १ करोड ६६ लाख ९५ हजार ७५० कित्ता सेयर खरीदका लागि माग परेको हो । जुन सर्वसाधारणबाट माग भएको सेयर संख्या (६२ हजार ६१५ कित्ता) को २६६.६४ गुणा बढी हो ।

लघुवित्तले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्ता मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुको लागि तथा ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता साधारण सेयर सामुहिक लगानी कोषहरुको लागि सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता साधारण सेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार आइतबार (असार ५ गते) कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

नेपाल सरकारले आइतबारको सार्वजनिक बिदा कटौती गरेकोले चार कारोबार दिन आइतबार पुग्ने भएकाले सो दिनसम्म मात्र सार्वजनिक निष्काशन खुला हुन लागेको हो ।

यसअघि बिक्री प्रबन्धक बिओके क्यापिटलले सरकारले आइतबारको सार्वजनिक बिदा सूचनालाई आधिकारिक मानी आइतबार विदा रहेकाले जेठ २३ मा आह्वानपत्र प्रकाशित गरेको थियो । सो सूचनामा आईपीओ निष्काशन तथा बिक्री बन्द हुने मिति छिटोमा असार ६ गते उल्लेख थियो । विदा कटौतिसँगै आवेदन समय पनि एक दिन घटेर आइतबारै आईपीओ निष्काशन बन्द हुन लागेको हो ।

असार १ गतेदेखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सेयरमा छिटो अवधिमा नै सर्वसाधारण आवेदकहरुबाट माग गरे भन्दा बढि सेयर खरीदका लागि आवेदन प्राप्त हुन आएकोले असार ५ गते बैंकिङ्ग समय पश्चात् सो सेयरका लागि आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ असार २०७९, आइतबार  १३ : ४८ बजे