नेप्सेमा लगातारको गिरावटले चौतर्फी मारमा लगानीकर्ता, सूचक अघिल्लो बुलको रेकर्ड बिन्दु नजिक

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचक ५० अंकले ओरालो लागेपछि सूचक अघिल्लो बुलको रेकर्ड बिन्दुनजिक झरेर बन्द भएको छ । निरन्तर ओरालो लाग्को नेप्से १८८१ को लाइनमा झरेको हो ।

सुचक सोमबार १२ बजेर ४७ मिनेटमा अघिल्लो बुलको रेकर्डभन्दा न्यून बिन्दु १८७९ दशमलव ८८ सम्म झरेको थियो । त्यसपछि २६.४१ बढेर १९०६.२९ बिन्दुसम्म उक्लेको बजार फेरि २१.४८ अंकले झरेको थियो ।

सोमबार नेप्से परिसूचक २.५५ प्रतिशत अर्थात ४९.३१ अंकले घटेर १८८४.८१ बिन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको कारोबार सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ७.६६ अंकले घटेर ३६६.१९ बिन्दुमा कारोबार बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

सरकारको पुँजी बजार विरोधीको नीतिका विरूद्धमा पुँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला ६ दिनदेखि आमरण अनसनमा रहेका छन् । लगानीकर्ताको विभिन्न संघ संस्थाहरुले हरेक दिनजसो धर्ना, र्याली र विरोधका अन्य कार्यक्रम जारी नै राखेका छन् ।

लगानीकर्ताहरुले यो आन्दोलनलाई निर्णयक भन्दै माग पूरा नभएसम्म आमरण अनशन र अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका छन्। लगानीकर्ताहरुले केन्द्रीय बैंक र धितोपत्र बोर्डमा पनि ज्ञापनपत्र बुझाइ सकेको छन् । यद्यपी सरकारले लगानीकर्तालाई अहिलेसम्म वार्ताका लागि भने अझै बोलाइसकेकाे अवस्था छैन । 

आन्दोलनसँगै लगानीकर्ताहरुले राजनैतिक भेटघाटलाई समेत तीब्र पारेका छन् । सोमबार सेयर लगानीकर्ताले पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेर ज्ञापनपत्र बुझाएका छन्। सेयर बजार सुधार संघर्ष समितिमा आबद्द एसपि चौलागाई, रोहन कार्की, पवित्रा ज्ञावली लगानीकर्ताहरुले प्रचण्ड निवास नजिक प्रदर्शनी गरेर प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

नेप्से लगातारको गिरावटले लगानीकर्ताहरूमा बैंक तथा वित्तीय संस्थाहरुबाट मार्जिन कलको क्रम बढ्न थालेको छ । यसअघि राष्ट्र बैंकको सेयरकर्जामा लागू ४.१२ करोडले धेरै लगानीकर्ताले मार्जिक कर्जा घटाएपनि कर्जा रहेका लगानीकर्ताहरु थप पीडित बनेका छन् । बढ्दो बजारमा कुस्त नाफा आर्जन गर्ने लोभमा सेयर बजारमा लगानी गरेका लगानीकर्ताहरुको पोर्टफोलियो ५० प्रतिशतभन्दा बढीले घटिसकेको छ । घट्दो बजारको सेलिङ्ग प्रेसरले कारोबार रकम भने बढेको छ ।

सोमबार १ अर्ब ७५ करोड ६ लाख १७१ रूपैयाँ बराबरको कारोबार भएको छ । २३० वटा कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर ३६ हजार ४६४ वटा संख्यामा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । आज कारोबार भएका सबै १३ वटै उपसमूहगत सूचक राताम्मे बनेको छ । सबैभन्दा धेरै हाइड्रोपावर ४.२८ प्रतिशत घटेको छ । यस्तै विकास बैंक ४.१३, अन्य ३.५०, फाइनान्स ३.४७ र निर्जीवन बीमा ३.०३ प्रतिशतले घट्दा होटल, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी सूचक पनि २ प्रतिशतभन्दा अधिकले घटेका छन् ।

सोमबार प्रभु बैंक लिमिटेडको संस्थापक सेयरको सर्वाधिक ११ करोड ८३ लाख २० हजार रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नेपाल टेलिकम १० करोड ९२ लाख र हिमालयन डिष्टिलरीको ५ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआईसी एशिया बैंक र नबिल बैंकको ४ करोड बढीको सेयर कारोबारमा आउँदा अरुण काबेली पावर, अरुण भ्याली, नेपाल बैंक, नेपाल लाइफ र एनसीसी बैंकको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको एनसीसी बैंकको ३ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भयो ।

सोमबार अधिकांश कम्पनीको सेयरमूल्य घटेपनि सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेर बढेको छ । दोस्रो बजारमा भर्खरै मात्र कारोबार खुलेको सिवाईसी र मर्जरका कारण रोक्का भएर खुला भउको आधिँखोला लघुवित्तको सेयरमूल्य बढेर क्रमशः प्रतिकित्ता सेयरमूल्य ७२१.९० र ५००.३० रुपैयाँ पुगेको छ । ओरियन्टल होटलको सेयरमूल्य पनि सामान्य बढेको छ ।

आजको बजारमा तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर ४२२.१० रूपैयाँमा झरेको छ । यस्तै कालिका पावर ९.३७, रिभर फल्स पावर ९.२३, कर्णाली डेभलपमेन्ट बैंक ८.७९, माउन्टेन हाइड्रोपावर नेपाल ८.७०, सप्तकोशी डेभलपमेन्ट बैंक ८.६३, ग्लोबल आइएमई समुन्नत योजना ८.४४, लिवर्टी इनर्जी ८.२६, दिश्यश्वरी हाइड्रोपावर ८.१४ र कर्पोरेट डेभलमेन्ट बैंकको सेयरमूल्य ८.११ प्रतिशतका दरले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७९, सोमबार  १६ : १८ बजे