सेबोनले बनाएको कार्यान्वयन समितिको सेयर लगानीकर्ताको संगठनद्वारा स्वागत

0
Shares

सेयर लगानीकर्ताका तीन सङ्गठनहरूले लगानीकर्ताको माग सम्बोधन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गठन गरेको कार्यान्वयन समितिको स्वागत गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले विज्ञप्ति जारी गर्दै समिति गठनको स्वागत गरेका हुन् ।

लगानीकर्ताका आधिकारिक संघ सङ्गठनका प्रतिनिधि रहने गरी नेपाल धितोपत्र बोर्डले जाहेज मागहरूलाई सम्बोधन गर्दै कार्यान्वयन समिति गठन गरेकाे भन्दै लगानीकर्ताहरूकाे मागहरूका सम्बन्धमा यथाशीघ्र काम कार्यवाही अगाडि बढाउने प्रतिबद्धता जनाएको प्रति लगानीकर्ताका संगठनहरूले हार्दिक आभार व्यक्त गरेको छन् ।

आम लगानीकर्ताहरूको समसामयिक मागलाई एकीकृत गर्दै १९ बुँदा माग राखेर नेपाल सरकारलाई ध्यानाकर्षण गराएको भन्दै उनीहरूले २०७९ असार ७ मा धितोपत्र बोर्डले गरेको पत्रकार सम्मेलनमा उल्लेख भएका केही बुँदाहरूलाई सेयर लगानीकर्ताहरूले सकारात्मक रूपमा लिएको जनाइएको छ । बाँकी बुँदाहरूमा आपसी छलफलबाट समाधान हुने कुरामा लगानीकर्ताहरू विश्वस्त रहेको बताइएको छ ।

पूँजी बजार सुधार र विस्तारका लागि गठित संघर्ष समितिले राखेका माग पूरा गर्न नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको तर्फबाट तीन र बोर्डको तर्फबाट दुई गरी पाँच जना सदस्य रहने गरी कार्यान्वयन समितिले बनाएको थियो ।

उक्त समितिमा बोर्डको तर्फबाट कार्यवाहक कार्यकारी निर्देशक विनय देव आचार्य र मुक्ति नाथ श्रेष्ठ तथा लगानीकर्ताहरूको तर्फबाट पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला, रोहन कार्की र आन्दोलनमा खटिएका लगानीकर्ता एसपी चौलागाईँ रहेका छन् ।

बोर्डले कार्यान्वयन समिति गठन गरेसँगै कोइरालालाले दशौँ दिनमा आमरण अनशन तोडेका थिए । बोर्ड अध्यक्ष हमालले आइतबारबाटै कार्यन्वयन समितिले काम थाल्ने बताएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० असार २०७९, शुक्रबार  १५ : १४ बजे