धितोपत्र बजारप्रति सरकार अनुदार हुँदा पछिल्लो समय सेयर बजार मापक सूचक नेप्से निरन्तर ओरालोे लाग्दै आएको छ । यो साता पनि नेप्से ५.५५ प्रतिशत अर्थात १०९.३२ अंकले घटेको छ ।
आइतबार १९७१.३९ बिन्दुमा खुलेको बजार अन्तिम दिन शुक्रबारसम्ममा १०९.३२ ले घटेर १८६२.०६ अंकमा पुगेको बन्द भएको छ । बजारमा देखिएको उच्च गिरावटकै कारण एक सातामा नै लगानीकर्ताको सम्पत्ति १ खर्ब ५५ अर्ब ८७ करोड रुपैयाँले गुमेको छ ।
गत साताको तुलनामा ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १६.२४ अंक घटेको छ । गत साता ३८१.१४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ३६४.९० बिन्दुमा झरेको छ ।
सातामा ६ दिनमा ४ कारोबार दिन बजार घट्दा लगानीकर्ताहरूको सम्पत्तिको मूल्य अर्थात् कुल बजार पूँजीकरण २६ खर्ब ५४ अर्ब ८२ करोड ८९ लाखमा खुम्चिएको छ । यस्तो रकम गत साताको अन्तिम कारोबार दिन २८ खर्ब १० अर्ब ६९ करोड ६१ लाख थियो ।
असारदेखि शुक्रबार समेत गरी धितोपत्र दोस्रो बजार ६ कारोबार दिन सञ्चालन भएको छ । कारोबार दिन बढेकाले यो साता कारोबार रकम र कित्ता बढेको छ । सरकारले आइतबारको सार्वजनिक विदा दिने निर्णयखारेज गरेसँगै सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुदैं आएको बजार आइतबारदेखि शुक्रबारसम्म ६ कारोबार दिन सञ्चालनमा आएको हो ।
यो साता २ करोड ५२ लाख ४ हजार १३९ कित्ता सेयर ७ अर्ब ६३ करोड ३१ लाख रुपैयाँमा खरीद बिक्री भएको छ । गत साता १ करोड ७१ लाख ९९ हजार ९२४ कित्ता सेयर ५ अर्ब ५९ करोड ९४ लाख रुपैयाँमा खरीद बिक्री भएको थियो । समीक्षा अवधिमा ८० लाख ४ हजार २१५ कित्ता र २ अर्ब ३ करोड ३७ लाख रुपैयाँ बढीको धितोपत्र खरीद बिक्रीमा आएको हो ।
साताको ६ कारोबार दिनमा नेप्से २ दिन बढ्यो भने चार दिन घट्यो । आइतबार ३७.२७ अंक, सोमबार ४९.३१ अंक, बुधबार ३१.२१ अंक र बिहीबार ४५.२५ अंकले बजार घटेको हो । मंगलबार ३९.९३ र छैटौं अर्थात अन्तिम दिन शुक्रबारनेप्से १३.७८ अंकले बढेर बन्द भएको हो ।
यो साता यो साता सबै समूहगत उपसूचकहरू घट्दा जलविद्युत् समूहको उपसूचक सर्वाधिक १०.३४ प्रतिशतले ओरालो लागेको छ ।
यसैगरी विकास बैंक ८.७९ अन्य ८.३८, वित्त ७.५८, लगानी ६.६५, निर्जीवन बीमा ६.०२, म्युचुअल फण्ड ५.४४,लघुवित्त ४.७५, होटल तथा पर्यटन ४.७२, व्यापार ४.०४, बैंकिङ ३.७७, उत्पादन तथा प्रशोधन ३.२२ र जीवन बीमाको उपसूचक पनि ३.२२ प्रतिशतले नै घटेको छ ।
असार १ गतेदेखि आमरण अनसनमा रहेका पूँजीबजार सुधार संघर्ष समिति र नियामक निकाय नेपाल धितोपत्र बोर्डबीच शुक्रबार १९ बुँदे सहमति भएसँगै बजारप्रति लगानीकर्ताहरू सकारात्मक बनेका छन् । पूँजीबजार सुधारका लागि भन्दै संघर्ष समितिका संयोजक तिलक कोइराला र धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालबीच आइतबार देखि नै १९ बुँदा कार्यान्वयन गर्दै जाने सहमतिपछि शुक्रबार कोइरालाले १० औं दिनमा आमरण अनसन तोडेका थिए ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया