सिवाईसी लघुवित्तको आईपीओ पर्ने मालामाल, पुनर्बीमाको मूल्य सर्वाधिक घट्यो

0
Shares

सिवाईसी लघुवित्तको आईपीओ लगानीकर्ता यो साता मालामाल भएका छन् भने नेपाल पुनर्बीमा कम्पनीको सेयर लगानीकर्ताले यो साताको बजारबाट सर्वाधिक गुमाएका छन् ।

नेप्सेका अनुसार यो साता सिवाईसी लघुवित्तको सेयरमूल्य ४९.७८ प्रतिशतले बढेको हो भने पुनर्बीमा कम्पनीका लगानीकर्ताले १९.०९ प्रतिशतले गुमाएका छन् । हालै मात्र कारोबारमा आएको सिवाईसी लघुवित्तको सेयरमूल्य ४३७.३० बाट २१७.७० रुपैयाँ बढेर ६५५ रुपैयाँ पुगेको हो भने पुनर्बीमा कम्पनीको सेयरमूल्य ७४४ रुपैयाँबाट १४२ रुपैयाँ घटेर ६०२ रुपैयाँमा झरेको छ ।

यस साता आँधीखोला लघुवित्तको सेयरलगानीकर्ताले पनि ४८.३२ प्रतिशत नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य ५९६.७० बाट बढेर ८८५ रुपैयाँ पुगेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयरमूल्य ११०० रुपैयाँबाट ११.८१ प्रतिशत बढेर १२२९.९० रुपैयाँ पुगेको छ । सामुदायिक लघुवित्तको सेयरमूल्य ५.२७ प्रतिशत तथा लक्ष्मी लघुवित्तको सेयरमूल्य ४.१५ प्रतिशतले बढेको छ ।

उता यो नेपाल पुनर्बीमा कम्पनीपछि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य दोस्रो ठूलो घटेको छ । बैंकको सेयरमूल्य १८.९३ प्रतिशत घटेर २२७ रुपैयाँमा झरेको छ । छ्याङदी हाइड्रोपावरको सेयरमूल्य १८.१७ प्रतिशत, सामलिङ्ग पावर १७.२० प्रतिशत र नेशनल हाइड्रोपावरको सेयरमूल्य १६.६० प्रतिशतले घटेको छ ।

यसै सता पुनर्बीमा कम्पनी र नेशनल हाइड्रोपावरको बोनस सूचीकृत भएकाले पनि मागको तुलनामा उच्च आपूर्तिका कारण पनि ती कम्पनीको सेयरमूल्य घटेको हो । सिवाईसी लघुवित्त हालै मात्र दोस्रो बजारमा कारोबार सुरु भएको र आँधीखोला लघुवित्तको मर्जर भङ्ग भई रोक्का सेयर कारोबार फुकुवा भएका कारण निरन्तर बढ्दै आएका हुन् ।

यो साता ६ कारोबार दिनमा चार कारोबार दिन नेप्से घट्दा ५.५५ प्रतिशत अर्थात १०९ अंकले सूचक घटेको छ । आइतबार १९७१.३९ बिन्दुमा खुलेको बजार अन्तिम दिन शुक्रबारसम्ममा १०९.३२ ले घटेर १८६२।०६ अंकमा पुगेको बन्द भएको छ । बजारमा देखिएको उच्च गिरावटकै कारण एक सातामा नै लगानीकर्ताको सम्पत्ति १ खर्ब ५५ अर्ब ८७ करोड रुपैयाँले गुमेको छ ।

सरकारी बेवास्ताले नेप्से १०९ अंकले घट्दा लगानीकर्ताको सम्पत्ति डेढ खर्ब गुम्यो

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ असार २०७९, शनिबार  १८ : १५ बजे