सेयर बजारमा अल्पकालीन लगानीकर्ता हाबी, नेप्से २४ अंकले घट्दा कारोबार २ अर्ब नाघ्यो

0
Shares

सेयर बजार सूचक सोमबार २४ अंकले घटेको छ । आइतबार नेप्से ९५ अंकले बढेपछि सोमबार अल्पकालीन लगानीकर्ताहरु सेयर बिक्री गर्न हतारिँदा नेप्सेमा दबाब परेको हो ।

कारोबारको पाँच मिनेटमा नै २८ अंकले बढेको नेप्सेमा बिक्री चाप बढेपछि २० मिनेटमा नै नेप्से १३ अंकले घटेको थियो । त्यसपछि सम्हालिएको बजारमा पनि निरन्तर बिक्री चाप बढ्दा दिनरभर बजारमा तीब्र उतार चढावको अवस्था रह्यो । सेयर बजारमा दीर्घकालका लागि भन्दा छोटो समयमा नै सेयर बिक्री गरेर बाहिरिने ट्रेण्ड हाबी हुँदा सेयर बजारको वृद्धि टिकाउ हुन नसकेको अनुभवी लगानीकर्ताहरु बताउँछन् ।

एकदिन उच्च अंकले बढ्यो कि अर्कोदिन सेयर बिक्री गर्न हतारिने लगानीकर्ताको प्रवृत्तिले पनि बजारमा आउने वृद्धि स्थायी हुन सकेको छैन । सोही कारण अहिले सेयर बजारमा लाभांशमा आधारित भएर लगानी गर्ने समय भएपनि बजारमा माग भन्दा आपूर्ति ज्यादा रहेको छ ।

चालु आर्थिक वर्ष सकिन १५ दिनमात्र समय रहेकाले सूचीकृत कम्पनीहरुले एक दुई महिनापछि लाभांश प्रस्ताव गर्ने विगतमा वितरण गरेको लाभांश हेरेर संस्थागत सुशासन र वित्तीय अवस्था राम्रो भएका कम्पनीमा छानीछानी लगानी गर्ने बेला हो यो ।

सेयर बजार घटेर एक वर्षकै सस्तो मूल्य भएको अहिलेको समयमा एक दुई महिनाभित्रै प्रतिफल लिने समय भएपनि बजारमा लगानीकर्ता लगानी गर्न तयार देखिएका छैनन् ।

लगानीकर्ताको मनोबाल बढ्न नसक्दा बजारमा बजारमा नवप्रवेशी लगानीकर्ता भित्रन डराइरहेको अवस्था रहेको छ ।

अहिले अनुभव भएका पुराना लगानीकर्ता र नेप्से उच्च हुँदा सेयर बिक्री गरेर बाहिरिएका लगानीकर्ताले मात्र सेयर खरीद गरिरहेको ब्रोकर कम्पनीका एक अधिकारीले जानकारी दिए । उनका अनुसार आजभोलिको बजारमा निकै कम सर्वसाधारण मात्र सेयर कारोबारमा संलग्न रहेका छन् ।

सोमबार नेप्से २३.८५ अंकले घटेर १९३३.१३ बिन्दुमा झरेको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स ७.०२ अंकले घटेर ३७५.८२ अंकमा झरेको छ । आज कारोबार रकम २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४८ रुपैयाँ पुगेको छ । २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता सेयर ४३ हजार १२२ संख्यामा खरीद बिक्री भएको हो ।

आज जीवन बीमा र लगानी बाहेक ११ वटा उपसमुहगत सूचक रातो भएका छन । जीवन बीमाको सूचक १.२२ र लगानी १ प्रतिशतले बढेको हो । विकास बैंक सर्वाधिक ३.५१ प्रतिशतले घटेको बजारमा ब्यापार, होटल, जलविद्युत र फाइनान्स सूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

सोमबार नागरिक लगानी कोषको सबैभन्दा धेरै १५ करोड ६५ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । हिमालयन डिष्टिलरी ९ करोड ७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन ८ करोड ३ लाख र नबिल बैंकको ७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एशियन लाइफ, ङादी ग्रुप पावर, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, एचआईडिसीएल र नेपाल पुनर्बीमा कम्पनी शीर्ष दश काराबोर हुने कम्पनीमा समेटिएका छन् । दशौं ठूलो सेयर कारोबार भएको पुनर्बीमाको ४ करोड ३० लाख बढीको सेयर खरीद बिक्री भएको छ ।

आज सिवाईसी नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर र एलआईसीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सिवाईसीको सेयरमूल्य ७२ रुपैयाँ बढेर ७९२.५० रुपैयाँ पुग्दा न्यादी हाइड्रोपावरको २९.९० रुपैयाँ बढेर ३३० र एलआईसीको ११९ रुपैयाँ बढेर १४१९ रुपैयाँ पुगेको छ । यस्तै बुद्दभुमी नेपाल हाइड्रोपावरको ६.०७ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड-२ को इकाईमूल्य ४.८६ प्रतिशत र नागरिक लगानी कोषको सेयरमूल्य ४.७१ प्रतिशतले बढेको छ ।

यसदिन उन्नति सहकार्य लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ९९ रुपैयाँ घटेर ८९१ रुपैयाँमा झरेको छ । प्रभु बैंक डिबेञ्चर ८५ को मूल्य ७.९७ प्रतिशत, तेह्रथुम पावरको ७.२२ र प्रुडेन्सियल इन्स्योरेन्सको ६.२४ प्रतिशतले घटेको छ ।
शिवश्री हाइड्रोपावर, गुराँस लघुवित्त, रिलायन्स फाइनान्स, सिंगटी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक र सबैको लघुवित्तको सेयरमूल्य ५ प्रतिशत बढीले घटेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ असार २०७९, सोमबार  १५ : ३६ बजे