नेपाल प्रहरीले नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दक्षिणकालीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
ना ३४ प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा सवार सर्लाही बसबरीया गाउँपालिका–३ का २६ वर्षीय प्रमोद ठाकुर र सोही स्थानका २५ वर्षीय गङ्गाकुमार यादवलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले ठाकुर र यादवलाई एक हजार दरको २७ थान नक्कली नोट सहित पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका ठाकुर र यादवलाई मुलुकी अपराध संहिता २०७४, परिच्छेद–२२ को मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टले बताए ।
आलुको बोरामा ८३ लाख रुपैयाँ
धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै ८३ लाख ६४ हजार सहित आज दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका–५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् । उनीहरुलाई जनकनन्दनी–१ इनर्वा सीमाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।
प्रहरीले भारतबाट ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा रकम बोकेर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए।
दुबै जनालाई आवश्यक कारबाहीका लागि रकम सहित जिल्ला भन्सार कार्यालय जनकपुरको जिम्मा लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ । -रासस
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया