जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिद–बिक्री सम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारी सहित १३ जनालाई दोषी ठहर गरेको छ ।
न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारी सहित १३ जना दोषी रहेको फैसला सुनाएको हो ।
वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतले साविक जर्बुटा वडा नं ३ (क) कित्ता नं ३१११ रहेको ६ कट्ठा आफ्नो जग्गा २०७७ असार ८ गते खरिद–बिक्री भएको पाएपछि अदालतमा मुद्दा दायर गरेका थिए ।
जिल्ला अदालतले मालपोत कार्यालयका नायब सुब्बा विश्वरुप सावद, कम्प्युटर शाखामा कार्यरत गणेश विक, खरिदार रजिष्ट्रेशन कृष्णबहादुर थापा, दीपेन्द्र श्रेष्ठ र मोठ तथा जग्गा नामसारी फाँटका तीर्थराज महतारा, वीरेन्द्रनगर–१२ तत्कालीन कार्यवाहक अध्यक्ष रामकुमार दर्लामी, वडा सचिव उत्तम अधिकारी र सुनिता रानालाई कीर्ते कसुरमा दोषी ठहर गरेको छ ।
त्यस्तै वीरेन्द्रनगर–१ का सहवीर कार्की, वीरेन्द्रनगर–६ का अमरसिंह कटुवाल, वीरेन्द्रनगर–६ का सन्तोष ठाकुर, वीरेन्द्रनगर–५ का निर्मल पुरी, वीरेन्द्रनगर–२ का गणेश बुढालाई ठगी कसुरमा दोषी ठहर गरेको छ ।
जिल्ला अदालतका श्रेस्तेदार ठाकुरप्रसाद पौडेलले कीर्ते र ठगी कसुर भएकाको हकमा सजाय निर्धारणका लागि ३० दिनभित्र अर्को सुनुवाइ हुने जानकारी दिए ।
“सम्भवतः यही महिनाभित्र सजाय निर्धारणसम्बन्धी फैसला हुनसक्छ”, उनले भने । श्रेस्तेदार पौडेलका अनुसार फैसलामा जग्गाधनी रावतको सहिछाप नमिल्ने प्रमाणित विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन, जग्गा खरिदबिक्रीको क्रममा कुनै रकम नदिएको र तत्काल परिवारमा भागबण्डा गरी बिक्रीसमेत गरेको तथ्यमा प्रतिवादी सावित नै रहेको उल्लेख गरेको छ ।
जग्गा व्यवसायी ठाकुर सहितले कार्कीका नाममा राजीनामा लिखत पारित गराएपछि मालपोतका कर्मचारी सहित १९ जनाविरुद्ध रावतले अदालतमा मुद्दा दायर गरेका थिए ।
जग्गाको कित्ताकाट हुँदा अथवा किनबेच हुँदा जग्गाधनी र मोही (जग्गा किन्ने व्यक्ति) बीच आपसी सहमतिमा सयुंक्त निवेदन दिएको अवस्थामा मात्र मालपोत कार्यालयले नामसारी गराउन सक्छ । तर जग्गाधनीलाई कुनै जानकारी बिनै किनबेच भएको खुलेपछि रावतले ठगी तथा कीर्ते कसुर अभियोगमा तत्कालीन मालपोत कार्यालय प्रमुख लक्ष्मी खत्री सहित १९ जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।
अदालतले मालपोतका तत्कालीन कार्यालय प्रमुख खत्री सहित ६ जनालाई सफाइ दिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया