ब्रोकर लाइसेन्स वितरणका सम्बन्धी प्रस्तावको सेयर लगानीकर्ताको संघहरुद्धारा स्वागत

0
Shares

सेयर बजारका लगानीकर्ता संगठनहरुले नेपाल धितोपत्र बोर्ड (सोबोन) ले गरेको ‘धितोपत्र व्यवसायी नियमावली, २०६४’ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गर्ने निर्णयलाई स्वागत गरेका छन् ।

बिहीबार नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै सोबोनको उक्त निर्णयलाई स्वागत गरेका हुन् ।

पुँजीबजारको विकास र विस्तारमा सेबोनबाट उक्त प्रस्ताव अत्यन्त सराहनीय र प्रशंसनीय रहेको भन्दै जारी विज्ञप्तीमा भनिएको छ, ‘उक्त बुँदा कार्यान्वयनमा आएपछि पुँजीबजारको विकास र विस्तारमा कोशेढुंगा सावित हुनेछ ।’

सेबोनले ‘धितोपत्र व्यवसायी नियमावली, २०६४’मा संशोधन गर्दै तीन तहको ब्रोकर इजाजत पत्र वितरण गर्ने व्यवस्था गरेको छ ।

बोर्डबाट संशोधित मस्यौदाले पहिलो पटक ३० दिनको समय दिएर नेप्सेले ब्रोकर बन्न चाहनेसँग निवेदन माग गर्नुपर्ने र त्यसपछिको प्रत्येक आर्थिक वर्षको पहिलो महिनामा इच्छुक कम्पनीहरूले सिफारिसका लागि धितोपत्र बजार समक्ष निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । ब्रोकर कम्पनीलाई तीन किसिममा विभाजन गरिएको मस्यौदाअनुसार ब्रोकर कम्पनीको चुक्ता पुँजी कम्तीमा २० करोडदेखि १ अर्ब ५० करोड रूपैयाँ हुनुपर्नेछ ।

सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेशअनुसार धितोपत्र किनबेच गर्ने कम्पनीको चुक्ता पुँजी २० करोड रूपैयाँ तोकिएको छ। मार्जिन कारोबार गर्ने, लगानी परामर्शको सेवा दिने, लगानी व्यवस्थापन गरिदिने र निक्षेप सदस्यको काम गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड रूपैयाँ तोकिएको छ। यसैगरी आफ्नो लागि समेत सेयर किनबेच गर्ने, सेयर प्रत्याभूतिकर्ताको रूपमा काम गर्ने र योग्य संस्थागन लगानीकर्ताका रूपमा काम गर्नेको चुक्ता पुँजी भने एक अर्ब ५० करोड रूपैयाँ तोकिएको छ ।

मापदण्ड पुगेका जोकसैले पनि ब्रोकरको अनुमतिका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । यसबाट बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीहरूले समेत ब्रोकरका लागि लाइसेन्स दिन पाउनेछन्। हालको नियमावलीले पनि क वर्गका वाणिज्य बैंकहरूको ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले समेत ब्रोकर लाइसेन्सका लागि अनुमति दिन सकिने व्यवस्था गरेको छ ।

हाल दुई करोड चुक्ता पुँजी भएका कम्पनीहरूले ब्रोकरको काम गरिरहेका छन् ।

 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०७९, बिहीबार  १६ : ५४ बजे