एघार महिनामा २ खर्बको थप धितोपत्र सूचीकृत, २८ अर्बको निष्काशन अनुमति

0
Shares

धितोपत्र बजारमा चालु आर्थिक वर्ष २०७८।७९ को एघार महिनामा कुल १ खर्ब ९४ अर्ब १८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २८ अर्ब १५ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको एघार महिनाको तथ्याङ्क अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सबैभन्दा धेरै ५४ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ ।

यस्तै आर्थिक वर्ष २०७८/८९ को एघार महिनामा ५१ अर्ब ८१ करोड बराबरको बोनस सेयर,२४ अर्ब ८ करोड बराबरको साधारण सेयर, १० अर्ब ८८ करोड बराबरको हकप्रद सेयर, ९ अर्ब १६ करोड बराबरको डिबेन्चर र ३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्डका इकाई सूचीकृत भएको हो । सूचीकृत थप धितोपत्रको मूल्य कुल १ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले सबैभन्दा धेरै ११ अर्ब २८ करोड बराबरको डिबेन्चर निष्काशन गर्न स्वीकृति दिएको छ । यसैगरी यस अवधिमा ६ अर्ब ९० करोड बराबरको म्युचुअल फण्ड, ६ अर्ब ५१ करोड बराबरको साधारण सेयर र ३ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर गरी कुल २८ अर्ब १५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

एक हजार २९ अंकले घट्यो नेप्से, लगानीकर्ताको सम्पत्ति १४ खर्ब गुम्यो

एक वर्ष अवधिमा सेयर बजार मापक सूचक नेप्से १ हजार २९ दशमलव ५० अंकले घटेको छ । विसं २०७८ जेठ मसान्तमा ३०२५ दशमलव ८० अंकमा रहेको नेप्से सूचकाङ्क २०७९ जेठ मसान्तमा १९९६ दशमलव ३० अंकमा झरेको छ ।

नेप्सेमा आएको उच्च गिरावटका कारण सेयर बजारमा लगानीकर्ताको सम्पत्ति एक वर्ष अवधिमा १३ खर्ब ७१ अर्ब ८९ करोड रुपैयाँ क्षति भएको छ । विसं २०७९ जेठ मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ४४ अर्ब ११ करोड रुपैयाँमा झरेको छ । २०७८ जेठ मसान्तमा बजार पुँजीकरण ४२ खर्ब १६ अर्ब रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.७० प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.८ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१० प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३० प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५० प्रतिशत रहेको छ ।

विसं २०७९ जेठ मा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २३२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ जेठमा सूचीकृत कम्पनीहरूको संख्या २२० रहेकोमा १२ सूचीकृत कम्पनी थपिएका हुन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ जेठ सम्ममा सूचीकृत ६ अर्ब ७४ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ६४ अर्ब ६४ करोड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ असार २०७९, सोमबार  १६ : ५९ बजे