अपर हेवाखोलाको १५ लाख कित्ता आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने

0
Shares

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज असार २९ गते बुधबार अन्तिम दिन रहेको छ ।

कम्पनीले असार २४ गतेदेखि प्रतिसेयर १०० अंकित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।

आईपीओमा मेरो सेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आज कार्यालय समयभित्र आवेदन दिन सकिनेछ ।

उक्त आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कुल निष्काशित सेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले गत जेठ १० गतेदेखि आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित दरका ५ करोड मूल्यको ५ लाख कित्ता साधारण सेयर जारी गरेको थियो ।

पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६० मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडि सकिएको छ । कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट ४.३० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको थियो । यो आयोजनाबाट अब जम्मा १४.९० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ ।

विसं २०६७ कात्तिकदेखि निर्माण सुरु भएको आयोजना २०७३ साल मंसिरमा सम्पन्न भई उत्पादन परीक्षण गरिएको थियो ।

कति पर्यो आवेदन ?

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओमा मंगलबार साँझसम्म १२ लाख ११ हजार ६८९ वटा आवेदबाट १ करोड ३८ लाख ७७ हजार ८९० कित्ताको माग परेको छ । उक्त संख्या सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको ९.९५ गुणा बढी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २९ असार २०७९, बुधबार  ०९ : ३९ बजे