राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज (असार २९ गते) देखि २३ करोड ६६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नकिनेको ३७ हजार ६२३ कित्ता समेत समावेश छ ।
निष्काशित कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २१ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा साउन १ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन ११ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले जेठ २४ गतेदेखि आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि पहिलो चरणमा ६ लाख १२ हजार ७९३ कित्ता सेयर बिक्री खुला गरेको थियो ।
कम्पनीको जारी पूँजी ६१ करोड २७ लाख ६६ हजार ८०० रुपैयाँ रहेको छ । जसमध्ये संस्थापक सेयरधनीबाट ३१ करोड ८६ लाख २५ हजार ८०० रुपैयाँ चुक्ता भैसकेको छ । २९ करोड ४१ लाख ४१ हजार रुपैयाँको आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख ६६ हजार ८०० रुपैयाँ पुग्नेछ ।
कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया