तरलता सहज र बजार मैत्री नीतिको अपेक्षाले ५९ अंकले बढ्यो सेयर बजार

0
Shares

चालु आवको असार मसान्त सकिनै लाग्दा वित्तीय प्रणालीमा उल्लेखीय रुपमा तरलता थपिएपछि यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । असार लागेपछि मात्रै वित्तीय प्रणालीमा ९४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

साथै चौतर्फी दबाबपछि सेयरबजार मैत्री मौद्रिक नीति आउने अपेक्षा लगानीकर्ता रहदा पनि बजार बढ्न सहयोग पुगेको हो । असार मसान्तको किस्ता र ब्याजको जोहोपछि पनि लगानीकर्ता बजार फर्किन थालेका हुन । छोटो समयमा नाफा बुक गर्नेहरु पनि सस्तो मूल्यका सेयर खरिदमा लागेपछि बजार सकारात्मक भएको हो।

बुधबारको सेयर बजार परिसूचक नेप्से ५९.५४ अंक बढेर १९८६.८२ अंकमा पुगेको छ। यसदिन सबै उपसमूहका सूचक बढेका छन् भने काराबोर रकम समेत २ अर्ब नाघेको छ । अघिल्लो दिन १ अर्ब ७० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २ अर्ब ४ करोड ४४ लाख ४३ हजार रुपैयाँ बराबरको ५७ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबारको कारोबारमा बैंकिङ २४, विकास बैंक २०३, फाइनान्स १०२, होटल तथा पर्यटन ९६, जलविद्युत् १०४, जीवन बीमा १७०, उत्पादन १४१, माइक्रोफाइनान्स १३८, निर्जीवन बीमा १४४, अन्य ६६ र ब्यापार उपसमूह १०३ अंक बढे ।

कुल १८२ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको घट्यो । नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको मूल्य १० प्रतिशत बढ्दा सीईडीबी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य पनि करिब १० प्रतिशत बढ्यो । यस दिन एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ। अन्य स्टकको शेयरमूल्य गिरावट भने २ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, नेपाल बैंक, हिमालयन डिस्टिलरी र अरुणकाबेली क्रमशस् अगाडि रहे । शिवम् सिमेन्ट्सको यस दिन ९ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआईसी एशियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ असार २०७९, बुधबार  १५ : ४९ बजे