निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि गठित संसदीय छानबिन विशेष समितिले बुधबार स्थलगत निरीक्षण सम्पन्न गरेको छ ।
करको दर हेरफेर गरेको आरोपमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दोस्रो दिन निरीक्षणमा मुलतः सिसिटिभी क्यामरा कसरी जडान भएका छन् । कुन कुन कार्यकक्षमा कसरी संरचना बनाईएको छ र त्यसको कन्ट्रोल मेकानिजम के छ भन्ने सन्दर्भमा एकतर्फी रुपमा निरीक्षण गरेकाे छ ।
समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा मंगलबार संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको दोस्रो बैठकले छानबिन गर्नका लागि आवश्यक कागजात तथा प्रमाणहरु सम्बन्धीत निकायबाट माग गरिएकोमा आवश्यक कागजात आउन समय लाग्ने भएकाले बुधबार नै स्थलगत निरीक्षण गर्ने निर्णय गरेको थियाे । कार्यसूचीमा राखिएको विषयका लागि सम्बन्धित मन्त्रालयको स्थलगत निरिक्षण गर्ने कार्यविधिले तय गरेको थियो । सोही अनुसार बुधबार निरीक्षण भएको हो ।
समिति सचिव सुरेन्द्र अर्यालका अनुसार आज निरीक्षण अवलोकन गर्ने काममा नै सीमित भएको छ । उनका अनुसार तत्कालीन अर्थमन्त्री शर्माले करको दर हेरफेर गरेको आरोपमा छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति लक्ष्मणलाल कर्ण सहित अन्य सदस्यहरु र सचिवालयका सदस्यहरु समेत गएर स्थलगत निरीक्षण गर्ने काम भयाे ।
“दुईतर्फी रुपमा सञ्चार गर्ने कार्य आज भएन ।” उनले भने, “अर्थ मन्त्रालका प्राविधिक क्षेत्रसँग सम्बन्धीत कर्मचारीले ती सबै पाटोसँग सम्बन्धीत कुराहरु राख्नुभयो । आजको दुई पक्षिय रुपमा छलफल केही भएन । माननीय सदस्यहरुले आफुलाई लागेको जिज्ञासाहरु राख्ने बाहेक भित्री विषयवस्तुहरुमा गएर सोधपुछ गर्ने केही पनि भएनन् । विषयभित्रका कन्टेन्टहरुमा भोलिका दिनमा छलफलकै क्रममा आउला । ”
सचिव अर्यालले बुधबार निरीक्षण टोलीले अर्थ मन्त्रालयको सचिव, आइटी कक्ष, बजेट महाशाखा लगायतको निरीक्षण गरेर फर्किएको जानकारी दिए । यस्तै मंगलबारको बैठकले गरेको निर्णय अनुसार बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको हो वा होइन पत्ता लगाउन बिहीबार २ बजेभित्र अर्थमन्त्रालयको सीसीटीभी फुटेज उपलब्ध गराउन संसदीय विशेष समितिले निर्देशन दिएको छ । मंगलबार बैठक सकिँदा कार्यालय समय सकिएको कारणले गर्दा आज दश बजेपछि पत्र पठाएको उनको भनाई छ ।
अर्यालले भने, “बिहीबार दिउँसो २ बजेभित्र आवश्यक विवरण पठाउन भनिएको छ । उहाँहरुले तयारी गर्नुहुन्छ होला । एक दुई घण्टा तलमाथि हुनसक्छ । छानाबिन प्रकृयासँग सम्बन्धीत कार्यविधिले तोकेका कागजातहरु र सिटिटिभि फुटेज उपलब्ध गराउन पत्राचार गरिएको छ ।”
शर्माले राजीनामा दिएपछि त्यसबारे छानबिन गर्न असार २२ गते गठित समितिमा ११ सदस्य रहेका छन् । उनीहरूलाई १० दिनभित्र छानबिन सकेर प्रतिवेदन दिन समय दिइएको छ। समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।
आजको निरीक्षणमा सुरेन्द्र यादव बाहेक दश जना सदस्यहरुको सहभागिता रहेको थियो ।सदस्यहरूबीच सर्वसहमति हुने नसकेपछि समितिको सभापति कसलाई बनाउने भन्ने विषयमा भने आज पनि टुङ्गो लाग्न सकेन ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया