नेपाल फाइनान्सको लिलामी सेयरको शिलबन्दी बोलपत्र खुला भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बोलपत्र खुला भएको हो ।
क्यापिटलका अनुसार सर्वसाधारणतर्फको लिलामी सेयरको प्रारम्भिक कटअफ १७२ रुपैयाँ कायम भएको छ । साधारण सेयरको लिलामीमा बोलपत्र पेश गरेका ३२९ मध्ये २०५ जनाले सेयर पाउने प्रारम्भिक तथ्याङ्क देखिएको छ ।
यसैगरी संस्थापक तर्फको सेयरको कटअफ १०० रुपैयाँ कायम भएको छ । संस्थापकतर्फ २ वटा आवेदन मार्फत २ हजार कित्ताका लागि मात्रै आवेदन प्राप्त भएको छ ।
फाइनान्सको उक्त सेयर असार १७ गते शुक्रबारदेखि असार २४ गते शुक्रबारसम्म कुल १४ लाख ३९ हजार ४१२ कित्ता सेयर लिलामी खुला गरेको थियो । जसमा संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ कित्ता सेयर थियो ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा पेश गर्न आह्वान गरेको थियो ।
कम्पनीले यसअघि जेठ ६ गतेदेखि २६ गतेसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर फाइनान्स कम्पनीले प्रभु क्यापिटल मार्फत लिलामीमा ल्याएको थियो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया