चालु आर्थिक वर्षमा सेयर बजार ८७३.९२ अंकले ओरालो लागेको छ । २०७८ असार ३१ गते २८८३.३८ अंकमा रहेको सेयर बजार यो आवको अन्तिम कारोबार दिन शुक्रबार २००९.४६ बिन्दुमा बन्द भएको हो ।
गत आवको अन्तिम दिन ११.३३ अंकले बढेको सेयर बजार चालु आवको अन्तिम कारोबार दिन ७.९३ अंकले बढेर बन्द भएको छ । अघिल्लो आवको अन्तिम दिन ८ अर्ब १४ करोडको सेयर कारोबारमा भएकोमा चालु आवको अन्तिम दिनमा भने १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । शुक्रबार २ घण्टा मात्रै सेयर कारोबार हुँदा कारोबार रकम थोरै भएको हो ।
पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा नीति विभागको सदस्यमा एम अधिकारी नाममा रहेको भन्दै विवादमा मुछिएका छन् । यसले संसददेखि सडकसम्म उनले राजीनामा दिनुपर्ने आवाज बुलंद बनेको छ । पार्टीको सदस्य गभर्नर हुन नसक्ने भन्दै सत्तापक्षका सांसद र चालु आवको मौद्रिक नीतमार्फत लागू गरिएको ४-१२ नीतिका कारण सेयर बजार ओरालो लागेको भन्दै सेयर लगानीकर्ताले समेत सडकमा उत्रिएर उनको राजीनामा मागेका छन् ।
यहि मेसोमा लगातार घट्दो क्रममा रहेको नेप्से लगातार चार दिन नेप्से वृद्धि हुँदा ९३.८६ अंकको वृद्धि देखिएको छ । लगानीकर्ताहरू विशेष गरी साउन पहिलो साता आउने मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। गभर्नर अधिकारी विवादमा तानिएसँगै अब मौद्रिक नीति आउनेसमय धकेलिन सम्भावना समेत बढेको छ ।
शुक्रबार नेप्से ७.९३ अंकले बढेर २००९.४६ बिन्दुमा अडिएको छ । यसदिन २३१ कम्पनीका ४० लाख ५१ हजार ७७१ कित्ता सेयर २१ हजार ६१५ वटा संख्यामा खरिद बिक्री भएको छ । आज १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ रुपैयाँको कारोबार भएको छ ।
शतप्रतिशत हकप्रद बिक्रीको प्रस्ताव साधारण सभामा लैजाने प्रस्ताव गरेपछि शुक्रबार अपर तामाकोशीको उच्च कारोबार भएको छ ।
कारोबार रकम कारोबार संख्या र कारोबार कित्ता सबैमा अपर अगाडि छ । कम्पनीको ३ लाख ५५ हजार २३२ कित्ता सेयर २ हजार ५५५ वटा संख्यामा भएको कारोबारबाट १९ करोड ७२ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् । दोस्रो ठूलो कारोबार भएको एभरेष्ट बैंकको ६ करोड ९४ लाख तथा किसान लघुवित्तको संस्थापक सेयरको ५ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबारमा आएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ४८ लाख र अरुण काबेली पावरको ४ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अधिकांश इक्वीटीहरुको भाउ घटेको आजको बजारमा डिबेञ्चरहरुको सेयरमूल्य उकालो लागेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर ८२, माछापुच्छ्रे बैंक डिबेञ्चर ८५, सानिमा बैंक डिबेञ्चर ८५, नबिल ब्यालेन्स्ड फण्ड ३ र एनआईसी एशिया बैंक डिबेञ्चर ८२।८३ एग्रिकल्चर बैंक डिबेञ्चर ८३ र आरबिबि म्युचुअल फण्ड १ को इकाईमूल्य करिब १० प्रतिशतले बढको छ ।
उता आजको बजारमा ग्रीन लाइफको सेयरमूल्य सर्वाधिक ५.३१ प्रतिशतले घटेको छ भने माउन्टेन हाइड्रो नेपाल र रिभर फल्स पावरको सेयरमूल्य पनि ४ प्रतिशतभन्दा बढीले घटेको छ । बोटलर्स नेपाल तराइ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले पनि ३ प्रतिशत बढीले आजको बजारबाट गुमाएका छन् ।
आगामी आर्थिक वर्ष के होला ?
आगामी आर्थिक वर्ष सेयर बजार के होला भनेर अहिले नै आंकलन गर्न मुस्किल कुरा हो । पछिल्लो समय उम्दो रहेको सेयर बजारमा नीतिगत कडाई, बढ्दो ब्याजदर, तरलता संकटका कारण घट्दो क्रममा रहेको छ ।
नियामकीय निकायले सेयर बजारप्रति लिने नीतिका कारण सेयर बजार प्रभावित बन्ने गरेको छ । तरलता र ब्याजदरबाट समेत सेयर बजार अछुतो रहन सक्दैन । धितोपत्र बोर्डले ओपन ब्रोकर इजाजत नीति ल्याउनेगरी मस्यौदा गरेपछि त्यसले पछिल्लो समय सेयर बजार तरङ्गित छ । चालु आवमा बुक बिल्डिङ्ग विधि कार्यान्वयनमा जान नसकेकाले त्यसको सुरुवात हुने समय पछि आगामी आर्थिक वर्षलाई सरेको छ ।
बुक बिल्डिङ्ग विधिमा पहिलो गाँसमा नै ढुंगा लागेको छ । चालु आवमा बुक बिल्डिङबाट पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयर आफन्तको नाममा खरिद गरेर आचरण बाहिर गएर काम गरेपछि नेपाल धितोपत्र बोर्ड र नेप्से दुबै निकायका प्रमुख फेरिन पुगे । तत्काली बोर्ड अध्यक्ष भिष्म ढुंगानाले छोरीको र नेप्सेका प्रमुख कार्यकारी चन्द्रसिंह साउदले श्रीमतिको नाममा सेयर खरिद गरेपछि दुबै पदच्युत भएका हुन् ।
भदौ २ गते ३१९८ अंकको उच्चतम बिन्दुमा पुगेको बजार नेपाल राष्ट्र बैंकले लिएको सेयर कर्जाको ४।१२ नीतिका कारण हालसम्म ११८९ अंकले ओरालो लागेको अवस्था छ । हाल प्राथमिक बजारमा आवेदन गरिने आवेदन संख्या भन्दा १० लाभन्दा बढीले घटेको अवस्था छ । एएटा सार्वजनिक निष्काशनमा २७ लाखसम्म आवेदन पर्ने गरेकोमा हाल १५ लाख हारीमा खुम्चिएको अवस्था छ ।
हाल सरकारकै नीतिका कारण १०० रुपैयाँको सेयर बिक्री हुन समेत कडिनाई पर्न थालेको मर्चेन्ट बैंकरहरु बताउँछन् । एचआईडिसीएलले ३ करोड ३० लाख कित्ता सेयर १०० रुपैयाँमा बिक्री गर्न खोज्दा समेत १६प्रतिशत मात्र आवेदन पर्नुले हाल सरकारले पुँजी बजारलाई पुरै वेवास्ता गरेको देखिन्छ । अघिल्लो वर्ष यहि क्षेत्रबाट १४ अर्ब बढी कर संकलन गरेको सरकारले चालु आवमा कठोर नीति अबलम्बन गरेकै कारणले थोरै राजश्व संकलन गर्ने अवस्था देखिसकिएको छ ।
यति हुँदाहुँदै पनि सेयर बजारप्रति निराश हुनुपर्ने अवस्था छैन । सरकार पुँजी बजारप्रति सकारात्मक मात्रबनिदिने हो भने पनि सेयर बजारबाट लगानीकर्ता र सरकार दुबैले फाइदा असुल्न सक्नेछन् । सेयर बजारप्रति विश्वासको वातारण जगाउन सकेको खण्डमा सेयर बजारको भविष्य भने उज्वल नै देखिन्छ । प्राथामिक बजारमा आवेदन गर्नका लागि खोलेने डिम्याट खाताको संख्या ५२ लाख ६० हजार पुगिसकेको छ ।
दोस्रो बजारमा बास्तविक उत्पादनमुलक र अन्य क्षेत्रको कम्पनीको उपस्थिति बढ्दा बजारमा थप रौनकता छाउनेछ । बुक बिल्डिङ्गले एक सय रुपैयाँ अंकित मूल्यमा सेयर बिक्री गर्न अनिच्छुक रहेकाहरु पनि धमाधम सेयर बजारमा प्रवेश गर्नेछन । यसले सेयर बजारप्रति आकर्षण बढाउनेछ ।
यस आधारमा बास्तविक क्षेत्रका, उत्पादनमुल र मिडिया उद्योग समेत प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रकृया अगाडि बढाएका छन् । त्यसकारण अबको सेयर बजार सरकारी सेयर बजारप्रति लिने नीति, बजारमा तरलता (स्रोत) को अवस्था, ब्याजदर के कस्तो रहन्छ त्यसमा नै निर्धारण हुने देखिन्छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया