नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलविद्युत क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवद्र्धकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् ।
तीनदिने भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले ‘फाउन्डेशन फर पब्लिक अवेयरनेस एन्ड पोलिसी’ (एफपिएपि) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, पूर्वाधार, सम्पर्क सञ्जाल, निर्यातजन्य लघु, साना तथा मझौला उद्योग लगायत उच्च सम्भावना भएका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।
जलविद्युत उत्पादनमा नेपालमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै दाहालले भारत विश्व अर्थतन्त्रको मुख्य केन्द्र बन्दै गरेको अवस्थामा विद्युतीय ऊर्जाको माग बढी रहेको बताए । ऊर्जा क्षेत्रमा भएका द्विपक्षीय सहकार्य मार्फत दुवै देशले सामूहिक लाभ लिन सक्ने जनाउँदै उनले ऊर्जा सुरक्षा र हरित विकासमा नेपालको जलविद्युत् महत्वपूर्ण हुने बताए ।
ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र भारत गत अप्रिलमा सहमति भएको उल्लेख गर्दै उनले सोही आधारमा दीर्घकालीन रुपमा जलविद्युतको विकास गरिने बताए । नयाँ प्रसारण लाइनमार्फत अन्दरदेशीय प्रशारण लाइनको सवलीकरण गरिएको र यसबाट दुई देशबीचको ऊर्जा व्यापारको सम्भावना थप विस्तार भएको उनको भनाई थियो ।
“नेपालबाट ३६० मेगावाट विद्युत् भारत निर्यात भइरहेको छ, यसलाई दीर्घकालीन रुपमा विस्तार गर्न चाहन्छौँ”, पूर्वप्रधानमन्त्री दाहालले भने, “नेपाल–भारतबीच भएको पछिल्लो समझदारीका आधारमा बङ्गलादेश, भूटान, भारत र नेपाल सम्मिलित (बिबिआइएन) मार्फत क्षेत्रीय विद्युत् व्यापारका लागि मार्ग प्रसस्त भएको छ ।” – रासस
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया