चालु आवको पहिलो दिनमै नेप्सेमा हरायो रौनक, अपर तामाकोशीको सेयर मूल्य घटेर उच्च कारोबार

0
Shares

आजदेखि चालु आर्थिक वर्ष सुरुवात भएको छ । तर आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से झिनो अंकले बढेको छ भने कारोबारमा आउने कम्पनी, सेयर कित्ता, कारोबार संख्या र कुल कारोबार रकममा समेत उच्च गिरावट देखिएको छ ।

आज नेप्से १.९३ अकंले बढेर सूचक २०११.३९ बिन्दुमा बन्द भएको छ । आज २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता सेयर २५ हजार ९२४ पटक किनबेच हुँदा कारोबार रकम १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ रुपैयाँ कायम भएको छ ।

शुक्रबार २ घण्टाको कारोबारमा नै २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँको कारोबार भएको थियो । शुक्रबार २ घण्टामा भएको कारोबार जति समेत ४ घण्टाको समयमा कारोबार नहुनुले सेयर बजारमा रौनकता हराएको बुझ्न जो कोहीलाई कठिन पर्दैन ।

कारोबारमा आएको १३ मध्ये ८ वटा उपसमुहगत सूचक घटेका छन् भने ५ वटा बढेका छन् । बैंकिङ्ग, ब्यापार, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानी सूचक सामान्य (एक प्रतिशत कमले ) बढ्दा होटल र हाइड्रोपावर १ प्रतिशत बढी तथा बाँकी सबै एक प्रतिशतभन्दा कमले ऋणात्मक भएको छ ।

आजको बजारमा अपर तामाकोशी हाइड्रोपावरको सेयरमूल्य घटेर उच्च कारोबार भएको छ । कम्पनीको सेयर प्रतिसेयर १८.९० रुपैयाँ घटेर ५२३.१० रुपैयाँमा झरेको छ । आज अपर तामाकोशीको ६ करोड ४ लाखको सेयर खरिद बिक्री भएको छ । शतिप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव साधारण सभामा लैजाने निर्णय सञ्चालक समितिको बैठकबाट गरेपछि बजारमा कम्पनीके सेयरमूल्य बढाइएको थियो । बढाइएको मूल्य आइतबारै घट्न सुरु भएको हो ।

यस्तै आज उच्च कारोबार हुने पाँच कम्पनीमा पर्ने अन्य कम्पनीहरुमा हिमालयन डिष्टिलरी ४ करोड ७६ लाख, अरुण काबेली पावर ४ करोड ६५ लाख, एनआईसी एशिया बैंकको ४ करोड ५६ लाख ३० हजार रुपैयाँ र नेपाल टेलिकमको ४ करोड ४६ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ ।

आजको बजारमा राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ५.४८ प्रतिशतले बढेर ५६८ रूपैयाँ पुगेको छ । प्रभु बैंक ४.७३ प्रतिशत, नयाँ सारथी लघुवित्त ४.४३, कुमारी बै.क ४.१९ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ३.९४ प्रतिशतले बढेको छ ।

यस दिन प्रभु सेलेक्ट फण्डको मूल्य सबैभन्दा धेरै ९.७८ प्रतिशतले घटेर ८.६७ रूपैयाँमा झरेको छ । सामुदायिक लघुवित्त ७.५०, नबिल ब्यालेन्स्ड फण्ड ३ को ५.२०,मिथिला लघुवित्त ४.५४ र छिमेक लघुवित्तको सेयरमूल्य ४.४६ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ साउन २०७९, आइतबार  १५ : ३० बजे