राप्ती हाइड्रोको आईपीओमा १४ सय जनाको १७ हजार कित्ता सेयरकाे आवेदन रद्द

0
Shares

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आईपीओमा १४ सय आवेदकको १७ हजार बढी कित्ता सेयर रद्द भएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार भएको बाँडफाँडमा दोहोरो तेहोरो आवेदन दिने १ हजार ४२४ आवेदनबाट परेको १७ हजार ३७० कित्ता सेयरको माग रद्द भएको हो ।

कुल १४ लाख ९१ हजार ७२२ आवेदनबाट १ करोड ६२ लाख ७६ हजार ६१० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमध्ये १४ लाख ९० हजार २९८ आवेदनबाट प्राप्त १ करोड ६२ लाख ५९ हजार २४० कित्ता सेयरलाई बाँडफाँड प्रकृयामा सामेल गराइएको थियो । आवेदन दिएका मध्ये कुल १२ लाख ७४ हजर २८ जना आवेदक हात खाली भएका छन् । जसमध्ये १२ लाख ७२ हजार ६०४ सदर आवेदकले सेयर प्राप्त गर्न सकेनन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम २ लाख १७ हजार ६९४ जनालाई सेयर बाँडफाँड गरिएको छ । सबै आवेदकलाई १० कित्ताका खरले सेयर बाँडफाँड गर्न अपुग भएपछि गोलाप्रथाबाट २ लाख १७ हजार ६९४ जनालाई १० कित्ताका दरले २१ लाख ७६ हजार ९४० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा साउन ९ गते सोमबार बिहान उक्त सेयर बाँडफाँड गरिएको थियो ।

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट अवितरित ३७ हजार ६२३ कित्ता सहित कुल २३ लाख ६६ हजार २४० कित्ता सेयर जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका इकाईका लागि र ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो । २१ लाख ७६ हजार ९४० कित्ता सेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।

कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको जारी पूँजी ६१ करोड २७ लाख ६६ हजार ८०० रुपैयाँ रहेको छ । जसमध्ये संस्थापक सेयरधनीबाट ३१ करोड ८६ लाख २५ हजार ८०० रुपैयाँ चुक्ता भैसकेको छ । २९ करोड ४१ लाख ४१ हजार रुपैयाँको आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख ६६ हजार ८०० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ साउन २०७९, सोमबार  ०९ : ५९ बजे