वाणिज्य बैंकहरुको औषत खराब कर्जा अनुपात १.१५ प्रतिशत रहेको देखिएको छ । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणका आधारमा यस्तो तथ्याङ्क देखिएको हो ।
गत आर्थिक वर्ष ०७८/७९ को असारमसान्तसम्म आइपुग्दा बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६९ अर्ब २८ करोड ३० लाख ५१ हजार छ । प्रति बैंक औषतमा १ खर्ब ६० अर्ब ३५ लाख ७० हजार रुपैयाँ बराबरको रहेको छ । यस आधारमा वाणिज्य बैंकहरुमा ४७ अर्ब ९४ करोड ६७ लाख रुपैयाँ बराबरको खराब कर्जा रहेको देखिन्छ ।
वित्तीय विवरण अनुसार सरकारी स्वामित्वका वाणिज्य बैंकहरुमा खराब कर्जा अनुपात धेरै रहेको छ । राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा धेरै कुल कर्जा लगानीको २ प्रतिशत खराब कर्जा रहेको छ । नेपाल बैंकमा १.९० प्रतिशत खराब कर्जा अनुपात छ । त्यस्तै अर्को सरकारी बैंक कृषि विकास बैंकको खराब कर्जा १.६८ प्रतिशत छ।
निजी बैंकतर्फ सबैभन्दा धेरै खराब कर्जा अनुपात एनसीसी बैंकमा १.९३ प्रतिशत रहेको छ भने सिसटजन्स बैंकमा १.८७ प्रतिशत रहेको छ । १६ वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात एक प्रतिशत भन्दा माथि छ । १० वाणिज्य बैंकको यस्तो अनुपात एक प्रतिशत भन्दा कम छ ।
नेपाल एसबिआई बैंकको खराब कर्जा अनुपात सबैभन्दा थोरै ०.१५ प्रतिशत रहेको छ । त्यसपछि कम खराब कर्जा हुनेमा एभरेष्ट, सानिमा, एनआईसी एशिया तथा स्ट्याण्र्डड चार्टर्ड लगायतका बैंक रहेका छन ।
के हो खराब कर्जा ?
बैंकक वित्तीय संस्थाले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जा भनिन्छ । यसलाई नन पर्फमिङ लोन अर्थात् एनपिएल पनि भनिन्छ ।
निश्चित समयभित्र भुक्तान गर्ने गरी कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई निश्चित रकम उपलब्ध गराउँछ । यद्यपि, कहिलेकाहीँ ऋणीले निर्धारित समयमा ऋण चुक्ता नगर्ने अर्थात् गर्न नसक्ने अवस्था पनि आउँछ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राखिन्छ ।
सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ।सर्वसाधारणबाट उठाएको निक्षेप विभिन्न क्षेत्रमा लगानी गरेर बैंकले नाफा आर्जन गर्ने गर्दछ । यद्यपि, लगानी गरेको पैसा नै नउठ्दा बैंकको नाफामा गिरावट आउदा बैंकले नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ । खराब कर्जा बढेर समस्याग्रस्त अवस्थामा पुगेको बैंकलाई सर्वसाधारणले पनि विश्वास गर्दैनन् । खराब कर्जाले बैंकको छविलाई नै गिराउने अर्थात् बैंकप्रति सर्वसाधारणको भरोसा नै गुम्न पुग्छ ।
कतिपय बैंकले व्यक्तिगत सम्बन्ध अर्थात् चिनेजानेको भरमा कर्जा पास गराउने गरेका कारण पनि बैंकले घाटा व्यहोर्ने स्थिति आइपर्ने गरेको छ। यसैगरी बैंकहरुले जथाभावी रुपमा कर्जा लगानी गर्दा यस्तो समस्या आउँछ । साथै अनुत्पादनमूलक क्षेत्रमा गरिएको लगानी डुब्ने खतरा बढी हुन्छ ।
लगानी गर्न लागेको क्षेत्रको अध्ययन नगर्दा पनि यस्तो समस्या निम्तिन्छ । यस्ता क्रियाकलापहरुका लागि बैंकप्रतिको विश्वास घट्दै जाने हुन्छ। जसले गर्दा बैंकतथा वित्तीय संस्थामा कारोबार कम हुन गई व्यवसायमा उल्लेख्य ह्रास आउँछ र संस्था समस्याग्रस्त हुन जान्छ ।
एनपिएल ५ प्रतिशत भन्दा बढी भएको बैंक तथा वितिय संस्थाले मुनाफा आर्जन गरेपनि लाभांश वितरण गर्न सक्दैन । यसले ऋणको गुणस्तरीयतासँगै व्यवस्थापनको अवस्था पनि देखाउँछ। एनपिएल जति कम भयो, त्यति राम्रो मानिन्छ । त्यसैले लगानीकर्ताहरुले एनपिएल कम भएको कम्पनी छान्नु उपयुक्त हुन्छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया