तीन करोड कित्ता बोनस सेयर सूचीकृत

0
Shares

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ३ करोड कित्ता बोनस सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गरेको चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । सूचीकरणसँगै उक्त सेयर सम्बन्धित लगानीकर्ताको खातामा पठाए पछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेपाल टेलिकमको २०७८ चैत्र २४ गते बिहीबार सम्पन्न भएको १४ औँ वार्षिक साधारण सभाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

साधारण सभा प्रयोजनका लागि टेलिकमले २०७८ चैत ११ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार चैत १० गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।

सभाबाट पारित चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश भने टेलिकमले यसअघि नै वितरण गरिसकेको छ ।

बोनस सूचीकरणसँगै टेलिकमको सेयर संख्या बढेपछि बिक्री चाप आउने देखिएको छ । लामो समयसम्म नगद मात्र वितरण गरेको कम्पनीले पहिलो पटक बोनस सेयर बितरण गरेको हो ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ साउन २०७९, मंगलबार  ११ : ५८ बजे