रुकुमगाड विद्युत् आयोजनाको ८९ प्रतिशत काम सकियाे

0
Shares

रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ । विद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले लिएको छ । कम्पनीले केही समयअघि मात्रै सर्वसाधारणमा आईपीओ जारी गरेर धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री समेत हुँदै आइरहेको छ । 

रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सीमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो ।

रुकुमगाड खोलाबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिँदै छ । अहिलेसम्म जलविद्युत संरचना निर्माणको सबै काम सकिएको छ भने पाइपलाइन विस्तारको काम ९५ प्रतिशत सकिएको छ ।

प्रसारणको काम करिब अन्तिम चरणमा रहेको परियोजनाका सहायक प्रबन्धक रिक्की क्षेत्रीले जानकारी दिए । उनका अनुसार सिभिल संरचना निर्माणको काम सकिएको छ । विद्युतगृह निर्माणको काम पनि अन्तिम चरणमा छ ।

लागत खर्च एक अर्ब ३० करोड रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट काम सुरु भएको यस आयोजनालाई आगामी मङ्सिर मसान्तभित्र पूर्णता दिने गरी काम भइरहेको सहायक प्रबन्धक क्षेत्रीले बताए । बीचमा कोभिडको कारण काममा केही असर परेको थियो । उनले मङ्सिर मसान्तभित्र आयोजनाको काम सकेर हस्तान्तरण गर्ने योजनाका साथ काम गरिरहेको बताए।

रुकुमपूर्वमा उत्पादन गरिएको पाँच मेगावट विद्युत् रुकुमपश्चिमका धैरेनीचौरमा रहेको सबस्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिने छ । यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ । आयोजनाले पूर्णता पायो भने रुकुमपूर्व जिल्लासँगै रुकुमपश्चिममा पनि विद्युत् सेवा नियमित हुनेमा आफू आशावादी रहेको सिस्ने गाउँपालिका–५ का टीका पुन शाहले बताए ।-रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ श्रावण २०७९, शनिबार  १८ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।