प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न आयोगको अपिल

0
Shares

निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पुर्‍याउन आह्वान गरेको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ ।

आयोगद्वारा राजधानीमा आज आयोजित आमसञ्चार माध्यममका सम्पादक तथा प्रमुखसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन सफल तुल्याउन महत्वपूर्ण भूमिका रहेको बताए । उनले मुलुकका जिम्मेवारी आमसञ्चार माध्यमबाट यसअघि जस्तै सकारात्मक भूमिका प्राप्त विश्वास व्यक्त गरे ।

आयोगले निर्वाचन कार्यतालिका निर्माण, निर्देशिका एवं कार्यविधि तर्जुमा/परिमार्जन, राजनीतिक दल दर्ता आह्वान, आर्थिक व्यवस्थापन कार्यविधि, बजेट तर्जुमा र मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गरेको उनले जानकारी दिए ।

थाहा खबरका प्रधान सम्पादक तीर्थ कोइरालाले निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आचारसंहिता जारी हुनुपर्ने धारणा व्यक्त गर्दै उम्मेदवारले निर्वाचनमा गरेको खर्च विवरण सार्वजनिक हुनुपर्ने बताए ।  बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले निर्वाचनको समयमा विज्ञापन गर्दा उम्मेदवारको खर्च पारदर्शी हुने चर्चा गर्दै विज्ञापन गर्नमा रोक लगाउन नहुने धारणा व्यक्त गरे । 

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले आमसञ्चार क्षेत्रका प्रतिनिधिसमेतको संलग्नतामा निर्वाचन आचारसंहिता लागू गर्न उपयुक्त हुने सुझाव दिए ।  परिसंवाद डटकमका प्रधान सम्पादन रघु मैनालीले राजनीतिक दललाई आयोगले नियन्त्रणभन्दा पनि जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै नेपालमा निरक्षरताको सङ्ख्या बढी भएकाले मतदाता शिक्षामा आयोगले विशेष ध्यान दिनुपर्ने सुझाव दिए । 

प्राइम टाइम टेलिभिजनका पत्रकार सरोज कोइरालाले भने, “निर्वाचनको समयमा पत्रकार समाचार सङ्कलन, सम्पादन र सम्प्रेषणमा व्यस्त हुन्छन, उनीहरु मत हाल्नका लागि जिल्लाको मतदान केन्द्रसम्म जाने फुर्सद नै हुँदैन, उनीहरुका लागि मतदान गर्ने के व्यवस्था हुन सक्ला भनी जिज्ञासा व्यक्त गरे ।”  इ कागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापाले आयोगले निर्देशनका लागि निर्देशन मात्रैभन्दा पनि कानूनको आधारमा निर्देशन दिनुपर्ने धारणा राखे ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा हालसम्म एक करोड ८२ लाख कूल मतदाता र करिब १० हजार ८२५ मतदानस्थल रहेको आयोगले जनाएको छ । त्यसैगरी अस्थायी मतदान केन्द्रबाहेक करिब २२ हजार ५०० मतदान केन्द्र रहनेछन् । आगामी निर्वाचनका क्रममा करिब १० अर्ब खर्च हुने आयोगले जनाएको छ ।

त्यसैगरी आयोगले मतदातास्थलको पुनरावलोकन, सामनुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम र अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि आह्वान गरेको छ ।

निर्वाचन आचारसंहितालाई थप व्यावहारिक बनाउने, सञ्चारमाध्यमलाई स्वनियमन गर्न प्रेरित गर्ने, सामाजिक सञ्जालमार्फत हुने राजनीतिक विज्ञापनको अनुगमन गर्ने र निर्वाचन खर्चप्रतिको धारणा र त्यसको वास्तविकताप्रतिको बुझाइ स्पष्ट गर्ने आयोगको सोच छ ।

आयोगले खर्चको सीमा सूत्रमा आधारित प्रणाली अवलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ साउन २०७९, आइतबार  १७ : ०४ बजे