अरुण भ्यालीको विद्युत बिक्री आय १६०% बढ्यो, नाफा कति ?

0
Shares

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा १६० प्रतिशतले विद्युत बिक्री आम्दानी बढाउँदै खुद नाफामा करिब १६ प्रतिशतले वृद्धि गरेको छ ।

गत आवको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ८ करोड ९९ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवमा कमाएको ८ करोड ७७ लाख ७४ हजार रुपैयाँको १५.६८ प्रतिशत धेरै हो ।

समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १६०।४८ प्रतिशतले आय बढाउँदै विद्युत बिक्रीबाट १३ करोड ९१ लाख ७३ हजार रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले बिजुली बिक्रीबाट ५ करोड ३४ लाख २७ हजार रूपैयाँ आम्दानी गरेको थियो ।

त्यसैगरी, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी १.४३ प्रतिशत बढेर ७ करोड ९९ लाख र कुल आम्दानी ६५.७० प्रतिशत बढेर २१ करोड ९१ लाख ६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा यस अवधिमा ६० प्रतिशत बढेर १७ करोड ९१ लख ७५ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी दश प्रतिशत बढाएर १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँ पुर्याएको कम्पनीको प्रतिसेयर आम्दानी ५.२० रुपैयाँ रहेको छ । अघिल्लो आवमा ४.९५ रुपैयाँ थियो । यस अवधिमा कम्पनीको जगेडा कोष भने ३५.७४ प्रतिशत घटेर १५ करोड २ लाख ६५ हजारमा झरेको छ ।

गत आवमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०८.६९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८२.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६८.४६ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० साउन २०७९, सोमबार  ०९ : ३१ बजे