अभियान लघुवित्तको आईपीओ पाँच प्रतिशतले पनि पाएनन्

0
Shares

अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ पाँच प्रतिशतभन्दा कम आवेदनकले मात्र हात पारेका छन् ।

उच्च मागका कारण एक सय आवेदकमा ९५ जना बढीले सेयर पाउन नसकेका हुन् ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा साउन ३० गते सोमबार भएको बाँडफाँडमा ९१ हजार ३७५ जनाले गोलाप्रथा माध्यमबाट १० कित्ता सेयर हात पारेका हुन् ।

कम्पनीको सेयर खरिदका लागि कुल १९ लाख ८० हजार ९७० जनाले सर्वसाधारणबाट माग सेयरको २३.९८ गुणा बढी २ करोड १९ लाख १२ हजार ६७० कित्ता खरिदको माग गर्दै आवेदन दिएका थिए । यो संख्याको आधारमा सेयर पाउने प्रतिशत ४.६१ प्रतिशत मात्र हुन आउँछ । बाँकी ९५.३९ प्रतिशत आवेदक अर्थात १८ लाख ८९ हजार ६०१ जनाले सेयर नपाएका हुन् ।

कम्पनीको सेयर खरिदका लागि उच्च आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको थियो ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओ आवेदन दिएकामध्ये २ हजार ३७६ वटा आवेदनबाट परेको २५ हजार ५७० कित्ता सेयरको माग रद्द भएको छ । १९ लाख ७८ हजार ५९४ वटा आवेदन रितपुर्वक पाइएकाले सो आवेदनबाट परेको २ करोड १८ लाख ८७ हजार १०० कित्ताको माग स्वीकृत गरी बाँडफाँडमा सहभागि गराइएको हो ।

लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । निष्काशित सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । सर्वसाधारणबाट ९ लाख १३ हजार ७५० कित्ता सेयर खरिदका लागि आह्वान भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० साउन २०७९, सोमबार  ०९ : ५१ बजे