शिखरको खुद नाफा ४० करोड माथि, ५०० करोड प्रिमियम संकलन

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ मा ४० करोड १४ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा ३१ करोड १३ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको खुद नाफा समीक्षा अवधिमा २८.९३ प्रतिशत बढेको हो ।

निर्जीवन बीमा क्षेत्रमा नम्बर वानको ताज बनाएको शिखरले इन्स्योरेन्सले २६.१० प्रतिशतले वृद्धि गर्दै ५ अर्ब ९२ लाख २२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क रकम पनि १८.५० प्रतिशत बढेर १ अर्ब ३९ करोड १० लाख रुपैयाँ पुगेको छ ।

गत आवमा गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको चुक्ता पुँजी ३० प्रतिशत बढेर २ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा ८७ करोड ७ लाख २२ हजार रुपैयाँ सञ्चित छ । अघिल्लो आवको तुलनामा जगेडा कोषको आकार ४४ प्रतिशत बढेको हो ।

चौथो त्रैमाससम्मको विवरण अनुसार इन्स्योरेन्सले पुनर्बीमा कमिशन आम्दानी २४.४२ प्रतिशत वृद्धि गर्दै ६७ करोड ४६ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै कम्पनीले १० करोड ६५ लाख १५ हजार रुपैयाँ लगानी, कर्जा तथा अन्यबाट आय गरेको छ । जुन अघिल्लो आवको तुलनामा १ करोड २० लाख कम हो । कम्पनीले गत आवमा ९७ करोड ५० लाख ५८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

गत आवमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १७.५६ रुपैयाँ छ । पुँजी वृद्धिभन्दा नाफा कम बढ्दा १५ पैसा इपिएस घटेको हो । असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ २५४.४० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५६.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५.९६ गुणा छ ।

इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ४१ करोड १६ लाख २७ हजार रुपैयाँ र महाविपत्ती कोषमा ११ करोड ८ लाख १८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा बीमा कोष १६.५८ प्रतिशत बढ्दा महाविपत्ती कोष यथावत छ ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीले १८ हजार ८८४ वटा दाबी वापत २ अर्ब १६ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने अब १५ हजार ९०० वटा दाबी वापत परेको २ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । अघिल्लो आवभन्दा कम्पनीको कम संख्या र रकममा दाबी भुक्तानी दिएका कारण दायित्व बढेको छ ।

अघिल्लो आवको सोही अवधिमा १९ हजार १९१ वटा दाबी वापत २ अर्ब २० करोड ३९ लाख भुक्तानी गर्दा १५ हजार ३१२ संख्याबाट परेको २ अर्ब १८ करोड ८७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० साउन २०७९, सोमबार  १० : ५१ बजे