नेप्से लगातार पाँच दिनमा ११४ अंकले घटेपछि छैटौं दिनमा बढ्यो ५५ अंक, केले बढायाे बजार ?

0
Shares

सेयर बजार सूचक मापक नेप्से लागातार पाँच कारोबार दिनमा ११४ अंकले घटेपछि छैटौं कारोबार दिनमा ५५.८८ अंकले बढेको छ ।

नेपाल बैंकर्स संघले भदौ महिनाका लागि ब्याजद नबढाउने निर्णय गरेसँगै सोमबार सेयर बजारमा सकारात्मक माहोल फर्किएको हो । यसदिन कारोबारमा आएका सबै उपसमुहगत सूचक बढेका छन् ।

पछिल्ला २ साता सेयर बजार तल झरेकाले पनि बजार स्वभाविक नियम अनुसार नै माथि बढेको पनि हो । बजार घट्दा र बढ्दा दुबैतर्फ आम लगानीकर्ताहरुले नाफा कमाउने रणनीति बनाउन सकेको खण्डमा सेयर बजारबाट राम्रै गर्न सकिन्छ । तर बजारका बारेमा ज्ञान नभई अरुले भनेको स्क्रिप्टमा गरिने लगानीकले भने जोखिम पनि निम्तन सक्छ । धितोपत्रको दोस्रो बजार जोखिमपूर्ण हुने भएकाले नै लगानीकर्ताले सेयर बजारमा लगानी गर्दा सधै त्यसबाट आउने जोखिम र लाभको विश्लेषण गरेर मात्र लगानी गर्नुपर्छ ।

सबैजसो सूचीकृत कम्पनीको गत आवको वित्तीय विवरण सार्वजनिक भैसकेकाले पनि लगानीकर्ताले लाभांशमा आधारित भएर लगानी बढाउन थालेका हुन् । भदौ पहिलो साताबाट नै धमाधम लाभांश घोषणा हुने लहर चल्नेछ । सेयर बजारमा बाली भित्र्याउने महिनाको रुपमा भदौ महिनालाई लिइन्छ । धेरै कम्पनीको लाभांश प्रस्तावले सेयरमूल्य बढ्दा घट्दो बजारमा गरिएको लगानीले राम्रै मुनाफा दिलाउने भएकाले पनि बजारमा लगानी गर्नेहरुले १०० अंक बढीको घट्दो बजारलाई सदुपयोग गरेका छन् ।

मर्जरमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्र रोकिने, ६ महिनामा संयुक्त कारोबार गर्नुपर्ने

नेप्से सूचक सोमबार ५५.८८ अंकले बढेर २०६५.८९ बिन्दुमा पुगेको छ । यसदिन २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँको सेयर कारोबार भएको छ । तीन कम्पनीको सेयरमूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको बजारमा थप १० कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा माथि बढेको छ ।

यस दिन २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर ४२ हजार ८९७ वटा संख्यामा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । सबै उपसमूहका सूचकमा हरियाली छाएको बजारमा फाइनान्स सबैभन्दा धेरै ७.३८ प्रतिशतले बढेको छ । अन्य ६ प्रतिशत, विकास बैंक ५, ब्यापार र जलविद्युत सूचक ४ प्रतिशतभन्दा बढीले बढेका छन् । होटल निर्जीवन बीमा ३ प्रतिशत तथा लगानी र लघुवित्त २ प्रतिशतभन्दा बढीले बढेको छ ।

आजको बजारमा कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । कम्पनीको सेयरमूल्य १५ रुपैयाँ घटेर २१ करोड २ लाख ५२ हजार रुपैयाँको कारोबार भएको हो । गत आवमा ५१ प््रतिशतले नाफा घटेपछि कम्पनीको सेयर बिक्री गर्ने बढेका हुन् ।  दोस्रो स्थानमा रहेको नेपाल लाइफको १२ करोड ५५ लाख तथा तेस्रो स्थानमा रहेको हिमालयन डिष्टिलरीको ९ करोड ४१ लखको सेयर खरिद बिक्री भएको छ । यसैगरी नेपाल टेलिकम, अरुण भ्याली, स्वावलम्बन लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, एनसीसी बैंक, अपि पावर र युनिभर्सल पावर शीर्ष कारोबार हुने दश कम्पनीको सूचीमा अटाएका छन् ।

आजको बजारमा श्री इन्भेष्ट एण्ड फाइनान्स, मल्टिपपर्स फाइनान्स, राधी विद्युत कम्पनी, रिभर फल्स पावर, पन्चकन्या माई हाइड्रोपावर, अपर हेवाखोला जलविद्युत, राष्ट्रउत्थान लघुवित्त, हिमालयन उर्जा विकास कम्पनी, सेन्ट्रल फाइनान्स, गोर्खाज फाइनान्स, आईसिएफसि फाइनान्स, युनिभर्सल पावर र दोर्दीखोला जलविद्युत कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा अधिक बढेको छ । इमर्जिङ्ग नेपाल, युनाइटेड मोदी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट, सप्तकोशी हाइड्रोपावर, जानकी फाइनान्स र दिब्यश्वरी हाइड्रोपावरको पनि ८ प्रतिशतभन्दा बढीले सेयरमूल्य वृद्धि भएको छ ।

उता मर्जरपछि कारोबार खुलेको रिडी पावरको सेयरमूल्य आज नकारात्मक सर्किट लागेर घटेको छ । कम्पनीको सेयर ७०.८० रुपैयाँ घटेर ६३७.८० रुपैयाँमा झरेको छ । गुराँस लघुवित्त र शिवम् सिमेन्टसको सेयरमूल्य पनि २ प्रतिशतभन्दा बढीले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० साउन २०७९, सोमबार  १६ : २१ बजे