लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ८ करोड ७४ लाख ७९ हजार रुपैयाँ खुद नोक्सानीमा पुगेको छ । अघिल्लो आवको यसै अवधिमा १९ करोड ९ लाख ९० हजार खुद नाफा कमाएको थियो ।
बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई फ्युचर बोनसका लागि प्रोभिजनिङ गरेकोले गर्नुपर्ने व्यवस्था गरेपछि कम्पनीको आम्दानी बढेपनि खुद नाफा भने घटेको हो ।
कम्पनीको आम्दानी गत आवमा ७५ लाख बढेर ३६ करोड ९८ लाख २६ हजार पुगेको भएपनि फ्युचर बोनसका लागि प्रोभिजनिङ वापत अघिल्लो आवको तुलनामा २३ करोड ६८ लाख बढी व्यवस्था गरेपछि कम्पनीको व्यवस्था तथा खर्च १७ करोड १३ लाखबाट बढेर ४५ करोड ७३ लाख ६ हजार रुपैयाँ पुगेको हो ।
गत आवको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष १५.४९ प्रतिशतले वृद्धि भएर ९३ अर्ब ६३ करोड ६ लाख ५३ हजार ४४७ रुपैयाँ सञ्चित भएको छ । जीवन बीमा कोषका आधारमा कम्पनी दोस्रो ठूलो हो । जीवन बीमा कम्पनीहरुका लागि मुनाफा भन्दा पनि जीवन बीमा कोषले ठूलो महत्व राख्छ । कम्पनीको जगेडा कोषमा ६१ करोड ५५ लाख १८ हजार र महाविपत्ति कोषमा ३६ करोड ५ लाख ९४ हजार सञ्चित छ ।
गत आवको असार मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ६.४० प्रतिशतले बढेर १८ अर्ब १३ करोड ९८ लाख ६५ हजार ५०९ रुपैयाँ संकलन गरेको छ । यस्तै समीक्षा अवधिमा खुद दाबी भुक्तानी पनि २३.२० प्रतिशतले बढेर ९ अर्ब ६ करोड ३६ लाख दुई हजार रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी २० प्रतिशत बढाएर २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुरयाएको कम्पनी नोक्सानीमा पुगेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ३.३० रुपैयाँ ऋणात्मक भएको छ । एलआईसीको प्रतिसेयर नेटवर्थ १३६.७९ रुपैयाँ र प्रतिसेयर कूल सम्पत्तिको मूल्य ३९५१.१७ रुपैयाँ रहेको छ ।
कम्पनीले गत आवमा पुनर्बीमा कमिसन आयबाट १ करोड १ लाख ८९ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ६ अर्ब ६१ करोड १४ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवमा कम्पनीको व्यवस्थापन खर्च ७ प्रतिशतले बढेर ९ करोड ६६ लाख ७७ हजार रुपैयाँ पुगेको छ । कम्पनीले बीमा अभिकर्तालाई १ अर्ब ६९ करोड २६ लाख ६२ हजार रुपैयाँ कमिशनमा खर्च गरेको छ ।
कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या ७ लाख ९ हजार ७८० वटा छ । गत आवमा कम्पनीले २६ हजार २१५ वटा संख्यामा परेको ९ अर्ब १२ करोड ३४ लाख रुपैयाँ कूल दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा १८ हजार ९८० वटा संख्याबाट परेको ७ अर्ब ४९ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको थियो । यस्तै गत आवमा कम्पनीको बक्यौता दाबी भुक्तानी रकम ३३ करोड ५४ लाख ३ हजार रुपैयाँ छ । अघिल्लो आवमा यस्तो रकम २५ करोड ७२ लाख ३१ हजार रुपैयाँ थियो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया