साताको पहिलो दिनमै नेप्से ऋणात्मक, अरु के–के भयो ?

0
Shares

सेयर बजार यो साताको पहिलो कारोबार दिन आइतबार नै ऋणात्मक भएको छ । कारोबार खुलेको सवा ३ घण्टा सकारात्मक रहेको बजार अन्तिम ४५ मिनेटमा आएर घटेको हो ।

नेप्सेका अनुसार गत साता ३०.३४ अंक बढेर २०६८.२६ बिन्दुमा पुगेको थियो । तर यो साता सुरुवातै घटेको हो । अल्पकालीन लगानीकर्ताहरु थोरै नाफा आउने बित्तिकै बेच्न हतारिँदा बजारको वृद्धि टिकाउ नदेखिएको हो ।

आइतबार नेप्से ०.३७ प्रतिशत अर्थात ७.७२ अंकले घटेर २०६०.५५ बिन्दुमा बन्द भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.४९ अंकले घटेर ३९८.५८ को बिन्दुमा झरेको छ ।

आज कारोबार रकममा समेत सामान्य गिरावट आएको छ । बिहीबार २७.५६ अंकले बढेको बजारमा २ अर्ब ५ करोड ७९ लाखको सेयर कारोबार भएकोमा आइतबार घटेर २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रूपैयाँमा खुम्चिएको छ । आज कूल २१८ वटा कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता सेयर ४३ हजार ४५५ वटा संख्यामा खरिद बिक्री भएका हुन् ।

लिलामीमा एक सय रुपैयाँमै बिक्न छाड्यो सेयर

आइतबार कारोबार भएका कूल १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक घट्दा ४ वटा मात्र बढेको नेप्सेले जनाएको छ । होटल सर्वाधिक १.०६ प्रतिशतले बढ्दा बैंकिङ्ग, निर्जीवन बीमा र उत्पादनमुलक सूचक पनि सामान्य सकारात्मक देखिएको छ । ब्यापार, हाइड्रोपावर र अन्य १ प्रतिशतभन्दा बढीले घटेको बजारमा बाँकी उपसमुहगत सूचक एक प्रतिशत कमले घटेका छन् ।

आइतबार रिडी पावर कम्पनीको सर्वाधिक १२ करोड २८ लाख ५० हजार रूपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको १ लाख ९९ हजार २२ कित्ता कारोबार भएको हो । अपि पावरको पनि १० करोड माथि कारोबार भएको छ ।

यस्तै नेष्डो समृद्ध, नेपाल टेलिकम, हिमालयन डिष्टिलरी, राद्यी विद्युत, शिवम् सिमेन्टस्, अपर तामाकोशी, फस्ट माइक्रोफाइनान्स र नबिल बैंक शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको नबिल बैंकको ३ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भयो । 

आजको बजारमा मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मन्दाकिनीको सेयर १० प्रतिशतले बढेर ३१५.८० रुपैयाँ पुगेको छ । यस्तै हेवाखोलाको सेयर ९.९८ प्रतिशतले बढेर २४९ रुपैयाँ पुगेको छ । एनएमबि ५० को इकाईमूल्य ४ प्रतिशत, स्वेतगंगा हाइड्रोपावरको ३.५६ र सोल्टी होटलको सेयरमूल्य ३.३१ प्रतिशतले बढेको छ ।

उता रिभर फल्स पावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ५.१९ प्रतिशतले घटेर २९२ रूपैयाँमा झरेको छ । हिमालयन हाइड्रोपावर ५.०९, कर्पोरेट डेभलपमेन्ट ४.५३, एनआईसी एशिया सेलेक्ट फण्ड ४.४७ र बलेफी हाइड्रोपावरको सेयरमूल्य ३.५९ प्रतिशतले घटेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ भाद्र २०७९, आइतबार  १५ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।