सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को इकाईमूल्य मंगलबार समायोजन भएको छ ।
फण्डले आर्थिक वर्ष २०७८/७९ बाट वितरण गर्ने प्रतिफल (नगद लाभांश) को बुकक्लोज मंगलबार तोकेकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्स) ले भदौ ७ गते मंगलबार लाभांश समायोजन नयाँ मूल्य तोकेको हो ।
नेप्सेले १० प्रतिशत नगद लाभांश समायोजनपछि फण्डको इकाईमूल्य ८.८३ रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन सोमबारको अन्तिम मूल्यका आधारमा स्कीमको इकाईमूल्य समायोजन भएको हो । सोमबार फण्डको इकाई ९.८३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
अब सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को इकाई मंगलबार समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा कारोबार खुल्नेछ । प्रतिफल वितरण प्रयोजनार्थ आज बुकक्लोज भई मूल्य समायोजनपछि इकाई किन्ने भने लाभांश पाउने छैनन् ।
मंगलबार नै बुकक्लोज गरेका अन्य तीन फण्डहरु सिद्धार्थ इक्विटी फण्ड तथा लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषको भने मूल्य समायोजन भएन । नेप्सेले बजार मूल्यभन्दा दश प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्दै आएकाहरुमा मात्र नगद लाभांशमा मूल्य समायोजन गर्दै आएको छ । यी तीनवटै फण्डको लाभांश फण्डको बजार मूल्यभन्दा कम भएकाले मूल्य समायोजन नभएको हो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२को लाभांश भने बजारमूल्यको दश प्रतिशतभन्दा माथि भएकाले मूल्य समायोजन भएको हो ।
गत आर्थिक वर्ष २०७८/७९ बाट सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड–२ ले कर सहित १० प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले कर सहित ९ प्रतिशत तथा लक्ष्मी इक्विटी फण्डले कर सहित ५ प्रतिशत र लक्ष्मी उन्नती कोषले पनि समान कर सहित ५ प्रतिशतका दरले लाभांश वितरण गरेको हो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया