सेयर बजार राताम्मे हुँदा लगानीकर्ता निराश, यो साता ४५.६४ अंक घट्यो

0
Shares

साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार राताम्मे हुँदा लगानीकर्ता निराश भएका छन् । शुक्रबार १६.९३ अंकले घटेको नेप्से परिसूचक यस दिन सहित सातामा ४५.६४ अंकले घटेको छ ।

सातामा ६ दिन सेयर कारोबार भएकोमा मंगलबार र बुधबार मात्र सामान्य बढेको हो । आइतबार, सोमबार, बिहीबार र शुक्रबार सेयर बजार राताम्मे रह्यो । सूचीकृत कम्पनीहरुको लाभांश वितरणको समय भएपनि यो वर्ष म्युचुअल फण्डहरु बाहेक कुनैपनि सूचीकृत कम्पनीले लाभांश प्रस्ताव गरेका छैनन् ।

लाभांश प्रस्ताव भएको भए बजारमा त्यसले आकर्षण बढाउने भएपनि कम्पनीको लाभांश प्रस्तावमा ढिलाई भएपछि सेयर बजारमा रौनकता बढ्न सकेको छैन । भदौ आधा सकिन लागेको र असोज दोस्रो साताभित्रै चाडवाडले छोप्ने हुँदा यो वर्ष सूचीकृत कम्पनीहरुले लगानीकर्तालाई दशौं खर्च नदिने देखिएको छ ।

असोज १० गते घटस्थापना रहेकाले लाभांश घोषणा र २१ दिनअघि साधारण सभा आह्वान गर्नुपर्ने हुँदा दशौंअघि सूचीकृत कम्पनीको साधारण सभा हुने अवस्था ज्यादै न्यून देखिएको हो । म्युचुअल फण्डहरुले भने बिहीबारदेखि नै लाभांश वितरण थालिसकेका छन् ।

सबैभन्दा पहिले प्रतिफल प्रस्ताव गरी साउन ३१ गते बुकक्लोज गरेको एनएमबि क्यापिटलले उक्त लाभांश वितरण थालेको हो । थप चार फण्डहरुले पनि भदौ ७ गते बुकक्लोज गरिसकेकाले ती फण्डको पनि अर्को साता लाभांश वितरण हुनेछ । बिहीबार एनआईबिएल एस क्यापिटलले पनि आफ्नो व्यवस्थापनमा सञ्चालित २ फण्डको लाभांश प्रस्ताव गरेको छ ।

यता बैंकिङ्ग प्रणालीमा साउन सकिन नपाउँदै लगानीयोग्य रकम अभाव हुँदा त्यसको असर सेयर बजारमा देखिरहेको छ । सेयर बजारमा अहिलेको समय बालि भित्र्याउने समय हो । गत आवको वित्तीय विवरणमा गरेको ग्रोथ वा घटेको लाभा.श र घाटाको आधारमा लगानीकर्ताले आफूहरुले पाउने लाभांश आंकलन गरिसकेका छन् । यसअनुसार बजारले गति लिनुपर्ने आम जनअपेक्षाबीच बजारमा त्यस किसिमको उत्साह देखिएको छैन । ठूला लगानीकर्ताहरुको लगानी बजारमा आउन सकेको छैन भने साना लगानीकर्ताहरु बुलिस बजारबाट घाटा खाएर बाहिरिएका कारण बजारमा प्रवेश गर्न डराइरहेको अवस्था छ ।

शुक्रबार नेप्से १६ अंकले घट्दा नेप्से २०२२.६२ बिन्दुमा खुम्चिन पुगेको छ । कारोबारमा आएकामध्ये जीवन बीम बाहेक बाँकी सबै १२ वटै उपसमुहगत सूचक राताम्य भएको छ । आज दुई घण्टा खुलेको बजारमा सूचीकृत २१३ कम्पनीको ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच कारोबार रकम १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँमा समेटिएको छ ।

हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ६ करोड ६८ लाख माथिको कारोबार भएको छ । त्यस्तै रिडी हाइड्रोपावरको ५ करोड ८७ लाख, अरुण काबेली पावरको ४ करोड ७४ लाख, राधी विद्युत कम्पनीको ४ करोड २८ लाख र नेपाल टेलिकमको ३ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । युनिभर्सल पावर कम्पनी ३ करोड ७७ लाख, एलआईसी ३ करोड ३६ लाख, शिवम् सिमेन्टस् ३ करोड ३४ लाख, अपि पावर ३ करोड १८ लाख र हिमालयन डिष्टिलरी ३ करोड १४ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । 

नेप्सेमा रहेका जीवन बीमा सूचक बाहेकका सबै सूचक आज राताम्य रहेका छन् । जीवन बीमा सूचक शुन्य दशमलव ३६ प्रतिशतले बढेको छ भने सर्वाधिक फाइनान्स समूहको १.८७ प्रतिशतले घटेको छ ।

सेयर बजार घटेपनि आज केही कम्पनीको सेयरमूल्य बढेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को सर्वाधिक ५.९५ प्रतिशतले बढेर प्रतिकित्ता १४४५ रुपैयाँ पुगेको छ । त्यस्तै, अपर हेवाखोलाको ५.३८ प्रतिशत, एनआइसी एशिया ग्रोथ फण्डको ३.९९ प्रतिशत, मल्टिपर्पस फाइनान्सको २.९८ प्रतिशतले बढेको छ ।

नेप्से परिसुचक घटेसँगै शुक्रबारको बजारबाट एनआईडिसीएलको संस्थापक सेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयरमूल्य ११३ मा कारोबार खुलेकोमा ८.२३ प्रतिशतले घटेर १०३.७० रुपैयाँमा कारोबार बन्द भएको छ । यस्तै पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य ४.८८ प्रतिशत, कालिका पावर ४.३९, ग्रीन डेभलपमेन्ट बैंक ३.८४, रिलायन्स फाइानान्सको ३.७९ र एनआइबिएल प्रगति फण्डको ३.६७, गोर्खाज फाइनान्स ३.६५, गुराँस लघुवित्त ३.६२, बुद्धभुमि नेपाल हाइड्रोपावर ३.६१ र युनिभर्सल पावर कम्पनीका सेयधनीले पनि शुक्रबार ३.५० प्रतिशतका दरले गुमाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार  १४ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।