
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालेपछि राहदानी विभाग परिसरमा सेवाग्राहीले पार्किङ्ग गर्न पाउने भएका छन् ।
दैनिक हजारौं सेवाग्राहीको भीड लाग्ने राहदानी विभागले सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको थिएन । सो स्थान विभागमा राहदानी बनाउन आउनेलाई ‘वेटिङ रुम’ का रुपमा प्रयोग हुँदै आइरहेको थियो । सोही कारण सेवाग्राहीले आसपासका गल्ली र सडक परिसरमै कष्टपूर्ण तरिकाले सवारी साधन पार्किङ्ग गर्नुपर्ने बाध्यता छ ।
विभागमा पार्किङका लागि बनाइएको भूमिगत स्थानमा कार्यालय राखिएको भन्दै शुक्रबार दिउँसो नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगै पार्किङ व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाको टोली राहदानी विभाग पुगेको थियो ।
महानगरपालिकाको टोली राहदानी विभागमा पुगेपछि विभागले भदौ १२ गते आइतबारदेखि बेसमेन्टलाई सेवाग्राहीलाई पार्किङ्गको रुपमा प्रयोग गर्न पाउने भन्दै सूचना नै जारी गरेको छ । यसले सेवाग्राहीले पार्किङ्गमा पाउँदै आएका सास्ती घट्ने भएको छ ।
विभागले सूचना मार्फत लाइभ इन्रोलमेन्ट सेन्टर राहदानी विभाग कायम भएका सेवाग्राही मात्र विभागमा आउन, फारममा तोकिएको मिति र समयमा मात्र आउन, आवेदन दिएका सम्बन्धीत आवेदक मात्र आउन र तयार राहदानी गेट नम्बर २ बाट प्रवेश गरी संकलन गर्न समेत सेवाग्राहीलाई अनुरोध गरेको छ ।

राहदानी विभागको सूचनापछि मेयर साहले भनेका छन्, “चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यहिरुपमा प्रयोग होस् । साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद । यो अभियान सँधै रहनेछ । हामी पुनः अनुरोध गर्दछौँ, कृपया ! नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला ।”
महागरपालिकाले यसअघि ३५ दिने सार्वजनिक सूचना निकालेर यस्ता संरचना हटाउन आग्रह गरेको थियो । तर सूचना अनुसारको काम नभएपछि मेयर साह आफैँ डोजर लिइ खटेर बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइसकेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया