गोल्छा ग्रुपको हुलास स्टीलले हकप्रद बिक्री गरेर पुँजी वृद्दि गर्ने

0
Shares

गोल्छा ग्रुपको हुलास स्टील इण्डष्ट्रिज लिमिटेडले चुक्ता पुँजीकोे साढे २८ प्रतिशत हकप्रद बिक्री गरेर पुँजी बढाउने भएको छ । व्यवसायिक कारोबारका लागि कम्पनीको पुँजी अप्रयाप्त भएपछि कम्पनीले हकप्रद बेचेर पुँजी संकलन गर्ने भएको हो ।

कम्पनीको भदौ ८ गते सम्पन्न सञ्चालक समितिले भदौ २९ गते बुधबार आह्वान गरेको विशेष साधारण सभामा हकप्रद बिक्री गर्ने विशेष प्रस्ताव राखिएको छ । सभाको विशेष प्रस्ताव अनुरुप कम्पनीले १०० बराबर २८ दशमलव ४९९९९ कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा भदौ २९ गते अपरान्ह २ कम्पनीको रजिष्टर्ड कार्यालय, गोल्छा हाउस, गणबहाल काठमाडौंमा सुरु हुनेछ । कोविड–१९ लगायतका कारणले सभामा उपस्थित हुन असमर्थ विदेशी लगायतका सेयरधनीले जुम मार्फत भर्चुअल रुपमा सहभागिता जनाउन सक्नेछन् । सभामा प्रस्तुत हुने अन्य विशेष प्रस्तावहरुमा हकप्रद सेयर खरिदको हक हस्तान्तरण सम्बन्धमा निर्णय गर्ने, हकप्रद बित्रलीपछि पुँजी बढ्ने भएकाले चुक्ता पुँजी वृद्धिको रकम प्रबन्ध पत्रमा संशोधन गर्ने लगायतका रहेका छन् ।

विशेष साधारण सभा र हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि भदौ २४ गते एक दिनका लागि कम्पनीको सेयर दर्ता पुस्तिका बन्द गरिने भएको छ । 

हुलास स्टील सन् १९८१ मा गोल्छा अर्गनाइजेसन, नेपाल, र सिंगापुरको कमक्राफ्ट लिमिटेडको संयुक्त लगानीमा स्थापना भएको कम्पनी सन् २००६ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । हुलास स्टीलले छतका पाता, जस्ता, आल्मुनियम, पोल आदी उत्पादन गर्दै आइरहेको छ । हुलास अग्रणी ब्रान्डहरुमा ग्याल्भेनाइज्ड पाइप र ब्ल्याक एमएस ट्यूबहरू समेत रहेको छ । गुणस्तरीय ब्राण्ड हुलासका उत्पादनहरुमा लालीगुराँस प्रतिकमा उपलब्ध छ ।

हाल हुलासमा विदेशी कम्पनी चार्नले डेभलपमेन्ट कम्पनी लिमिटेडको ५० प्रतिशत सेयर रहेको छ भने बाँकी गोल्छा परिवारको सेयर स्वामित्व रहेको छ । जसमा श्रीमती जयश्री गोल्छाको २४.५० प्रतिशत, हुलास मेटल क्राफ्टको ७.७० प्रतिशत, र दिनेश कुमार गोल्छाको ३.९० प्रतिशत लगायत सेयर स्वामित्व रहेको छ । उद्योगको क्षमता ४ लाख ८१ हजार ७६२ टन छ । जसमा ५० हजार टन पाइप (ब्लाक र ग्याल्बनाइज्ड), तीन लाख ९४ हजार सात सय सिट (प्लेन र कोरुगेटेडरजीपीआइरजीसीआइ) उत्पादन गर्ने क्षमता हुलास स्टिल्सको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ भाद्र २०७९, मंगलबार  १४ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।