मेघौली विमानस्थलको काम छिट्टै सम्पन्न गर्ने प्रचण्डको आश्वासन

0
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिवनमा रहेको मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै सम्पन्न गर्ने आश्वासन दिएका छन् ।

भरतपुर महानगरपालिकाले चितवनमा आयोजना गरेको मेघौली विमानस्थलको स्तरोन्नतिसम्बन्धी अन्तक्र्रियामा उनले ऐतिहासिक महत्व बोकेको यो विमानस्थलको काम तीव्र गतिमा अघि बढ्ने बताएका हुन् ।

विमानस्थल स्तरोन्नतिका लागि सर्वेक्षण गरेर प्राविधिक रिपोर्ट तयार गर्नका लागि प्रयोग गरिने ड्रोन उडाएर कामको शुभारम्भ गर्दै उनले छिट्टै विमानस्थलको कामले पूर्णता पाउनेमा आफू विश्वस्थ रहेको बताए ।

भरतपुर विमानस्थलको विस्तार र मेघौली विमानस्थलको धावनमार्गको कालोपत्र सहितको स्तरोन्नतिका लागि निरन्तर लागि रहेका दाहाल यसै क्षेत्रका सांसद समेत हुन् । दाहालले दुई विमानस्थलको विकाससँगै यहाँको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने बताए ।  उनले भने, “पर्यटन विकासको दृष्टिले मेघौलीको सम्भावना प्रचुर रहेको छ ।” कुञ्जसँगै आदिवासी समुदायको संस्कृति र वेषभूषाले पर्यटनलाई आकर्षण गरेको उनले बताए । दाहालले भने, “थारु, दराई र कुमालको संस्कृति एवं परम्परासँगै निकुञ्ज हुनुका कारणले अपार सम्भावना र चुनौती दुबै छ ।”

वन्यजन्तुबाट जनताको सुरक्षाका निम्ति नयाँ प्रविधिको प्रयोग गर्ने विषयमा छलफल चलिरहेको उनले बताए । उनले भने, “प्रधानमन्त्री, अर्थमन्त्री र वन तथा वातावरणमन्त्रीसँग कुराकानी भइरहेको छ । भारतमा जस्तै यहाँ पनि नयाँ प्रविधिको प्रयोग गर्ने कुरा भइरहेको छ ।” भारतमा वन्यजन्तुबाट जनताको सुरक्षाका लागि विशेष प्रकारको संयन्त्र विकास भएको भन्दै उनले यसका लागि केही करोड बजेट भए पुग्ने बताए ।

आफूले नारायणी तटबन्ध, चक्रपथ, भरतपुरदेखि मेघौलीसम्मको सहायक राजमार्ग, मङ्गलपुरदेखि मेघौलीसम्मको सडकको स्तरोन्नति लगायत महत्वपूर्ण विकास निर्माणमा जोड दिएको अध्यक्ष दाहालले बताए । मेघौलीलाई विशेष आर्थिक र पर्यटन क्षेत्रका रुपमा विकास गर्ने काम तीव्र गतिमा अघि बढेको उनले बताए । गोलाघाटमा पुल निर्माण युनेस्कोका कारण रोकिएको भन्दै उनले त्यसका लागि पनि पत्राचार गरिएको जानकारी दिए । राप्ती, रिउ र नारायणी नदीको सङ्गमस्थल पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको उनले बताए । आफू ११-१२ वर्षको हुँदा मेघौली विमानस्थलमा जहाज आएको र गएको समयलाई खाजा खाने समय सूचक बनाउने गरेको स्मरण उनले गरे ।

कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर र मेघौली विमानस्थलको कामसँगै अघि बढेको भन्दै यसले महानगरको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताइन् । पहिलो कार्यकाल थाल्दादेखि नै विमानस्थल विस्तारको कामलाई प्राथामिकतामा राखेकी दाहालले यसले यहाँको विकासमा फड्को मार्न सहयोगी बन्ने बताइन् । उनले भनिन्, “हाम्रो निरन्तरको प्रयास सार्थकतामा पुग्दैछ ।”

सोही अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले मेघौली विमानस्थल गुणस्तरीय पर्यटक चार्टर गर्ने महत्वपूर्ण विमानस्थलका रुपमा विगतमा परिचित रहेको बताए । भरतपुर विमानस्थल र मेघौली विमानस्थलको काम अघि बढेको भन्दै उनले यसले चितवनको विकासमा ठूलो सहयोग पु¥याउने बताए । मेघौलीको सर्भे सकिएसँगै लागत निकालेर बोलपत्र आह्वान गरिने उनले जानकारी दिए । कार्यक्रममा भरतपुर महानगरपालिकाका पर्यटक विज्ञ सल्लाहकार डा. विश्वराज सुवेदीले मेघौलीको पर्यटकीय महत्वका बारेमा प्रकाश पारेका थिए ।

पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा निकै तामझाम थियो । एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान गरे । तर त्यो तामझाम धेरै समय टिक्न सकेन ।

सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो । त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित छैन । विसं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जङ्गल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए ।

कुनै बेला मेघौली विमानस्थलमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे । सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमिनमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । विमानस्थलको धावनमार्गमा कालोपत्र गरेर ट्रमिनल व्यवस्थित गर्न लागिएको हो । विमानस्थलमा होटल टाइगरटप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्तीपोलो खेलसमेत हुने गरेको थियो । अहिले मेघौलीमा हात्तीपोलो खेल पनि बन्द भएको छ । मेघौलीदेखि जगतपुरसम्मका क्षेत्रमा राम्रा र ठूला ५० बढी पर्यटकीय होटल छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ भाद्र २०७९, शनिबार  १८ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।