सिक्लेस हाइड्रोपावरले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै

0
Shares

सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि ११ करोड ५० लाख बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले यसअघिनै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ करोड १२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गरिसकेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असोज २ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज १२ गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।

कस्तो छ कम्पनी ?

कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर २०७१ सालदेखि निमार्ण सुरु गरेर २०७४ मंसिरमा सम्पन्न भएको १३ मेगावाट क्षमताको आयोजना हो । कुल दुई अर्ब पाँच करोड रुपैयाँको लागतमा उक्त आयोजना निर्माण गरिएको हो ।

विसं २०७४ मंसिरमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनो मड्क्यु खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर लामो सुरुङमा दुईवटा ट्रर्वाइनबाट तल झारी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ केभी प्रशारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सव–स्टेशनमा जोडिएको छ ।

‘रन अफ द रिभर’ प्रविधिमा बनेको सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियूनिट सात रुपैयाँ र वर्षायामको समयमा प्रतियूनिट चार रुपैयाँका दरले विद्युत् खरीद बिक्री गर्ने सम्झौता गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार  ०७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।