उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले आम उपभोक्ता र व्यवसायिक प्रयोजनमा प्रयोग हुने सिलिण्डर र सोको मूल्य अलग–अलग कायम गर्ने काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
उद्योगमन्त्री बनेको पाँच महिनाको कार्यसमीक्षा गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यसले नेपाल आयल निगमले एलपी ग्याँसमा ब्यहोर्दै आएको अद्यावधिक नोक्सानी न्यूनीकरण गर्न र आम उपभोक्तालाई सहुलियतपूर्ण भाउमा एलपी ग्याँस उपलब्ध गराउन सकिने उल्लेख गरे ।
मन्त्री बडूले ग्याँसको उपभोग न्यूनीकरण गरी व्यापार घाटा कम गर्न सिंहदरबार परिसरभित्र विद्युतीय चुल्हो प्रयोग गर्नेगरी मन्त्रालयले पहल गरेअनुसार निर्णय कार्यान्वयनमा आएको जानकारी दिए ।
नेपाल आयल निगमको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले घरायसी र व्यवसायिक प्रयोजनका लागि अलग–अलग मूल्य कायम गर्न निगम सञ्चालक समितिका सदस्यको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको थियो ।
सरकारले यसअघि पनि व्यवसायीक प्रयोजनका लागि निलाे र घरयासी प्रयोजनका लागि रातो रंगको सिलिण्डर प्रयोग गर्ने निर्णय गरेर केही समय रातो र हरियो सिलिण्डर प्रयोगमा ल्याएपनि मूल्य अन्तर नहुँदै सो निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ आकासिएसँगै नेपाल आयल निगमले इन्धनमा मासिक ६१ अर्ब रुपैयाँ नोक्सानी ब्यहोर्दै आएको छ । जसमध्ये ग्याँसको मूल्य घट्दा समेत प्रतिसिलिण्डर ३७८ रुपैयाँ घाटा रहेको छ ।
अगष्ट २०२२ सम्म ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता रकम २१ अर्ब पुगेको छ । विदेशी मुद्रा खर्च गरी महङ्गो मूल्यमा आयात गर्नुपर्ने अवस्थाका कारण निगमलाई दैनिक बिक्रीबाट संकलन हुने रकम भुक्तानी गर्दा पनि बक्यौता बढ्दो छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया