पाइपलाइनबाट पेट्रोलियम पदार्थको आपूर्तिले निगमलाई पाँच अर्ब बचत

0
Shares

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म विस्तार गरिएको पेट्रोलियम पाइपलाइनबाट नेपाल आयल निगमले ५ अर्ब रुपैयाँ बचत गरेको छ ।

अमलेखगञ्जस्थित आयल निगमको प्रादेशिक कार्यालयका अनुसार पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको पाइपलाइनको तीन वर्ष पूरा हुँदा सो बराबरको रकम बचत भएको हो ।

तीन वर्षको अवधिमा निगमले ६९.२ किलोमिटरको पाइपलाइनबाट २८ लाख ९२ हजार ४२९ किलोलिटर डिजल आयात गरेको छ । हाल पाइपलाइनबाट डिजलमात्रै आपूर्ति भैरहेको छ । पाइपलाइनको वार्षिक २५ लाख किलोलिटर इन्धन आयात गर्ने क्षमता छ । मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेदेखि सञ्चालनमा आएको थियो ।

प्रादेशिक कार्यालयका प्रमुख प्रदीप यादवका अनुसार ट्यांकरबाट इन्धन आयात गर्दा बाटोमै चुहावट हुने, सवारी दुर्घटना हुने, सडक अवरोधका कारण नियमित ढुवानीमा कठिनाई हुने जस्ता विभिन्न किसिमका समस्या थिए । पाइपलाइनबाट हुने आपूर्तिमा चुहावट र अवरोध नहुने तथा सुरक्षित, सहज र सुलभ पनि देखिएको छ ।

अहिलेसम्म डिजलमात्रै आयात गरिरहेको निगमले दुई वर्षभित्र पेट्रोल र मट्टितेल पनि ल्याउने भएको छ । पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म लैजाने तयारी निगमको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ भाद्र २०७९, शनिबार  १९ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।