जलविद्युत आयोजनासँग जोडिएका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्छ: ऊर्जा मन्त्री

0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोपलगायत जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएकी छन ।

नेपाल हाइड्रो पावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएनको आयोजनामा भएको दिगो जलविद्युत मार्फत उन्नत र हरित उर्जा प्रवद्धन विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले जलविद्युत आयोजनाहरुको दिगो विकासका लागि भरपर्दो र बलियो संरचनाहरु निर्माण गर्नुपर्नेका साथै वातावरणलाई न्यून असर गर्दै प्रभावित समुदायको जीवनस्तरलाई गुणस्तरीय बनाउन सरकार लागि परेको बताइन । मन्त्री भुसालले जनताको गुणस्तरीय जीवनका लागि आवश्यक कानून, निर्देशिका र मापदण्डहरु तयार गरी लागू गरेको स्पष्ट पारे।

हरित ऊर्जा, विशेषगरी जलविद्युत र नवीकरणीय ऊर्जाको दिगो विकासका लागि अन्तर्राष्ट्रिय अनुभव र अभ्यास, नयाँ प्रविधिको विकास समेतलाई ध्यानमा राख्दै सम्मेलन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवालाहरूको छलफलबाट महत्वपूर्ण सुझाव प्राप्त हुने विश्वास व्यक्त गरिन।

जलवायु परिवर्तनको कारण अप्रत्यासित बाढी पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप, जैविक विविधतामा ह्रास लगायतका असरहरु भोग्नु परिरहेको उल्लेख गर्दै उनले दिगो रुपमा जलविद्युत आयोजनाका विकास, व्यवस्थापन र उपयोग गर्ने विषय अत्यन्त महत्वपूर्ण हुने बताए।

गुणस्तरीय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन जलविद्युत आयोजना, प्रसारण एवं वितरण लाइन तथा सब–स्टेशनहरु निर्माणमा विशेष प्राथमिकता दिईएको बताउँदै मन्त्री भुसालले जलविद्युतको विकासका लागि सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई परिचालन गरी व्यवस्थित रूपमा आयोजना विकासलाई अघि बढाउने नीति लिइएको जानकारी दिइन।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २७ भाद्र २०७९, सोमबार  १५ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।