
नबिल बैंकले बाल दिवसको अवसरमा नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक गरेको छ ।
नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुङ्गानाका साथ अरु विशिष्ठ अतिथीहरुको उपस्थितिमा नबिल जेन अल्फाको सार्वजनिक भएको हो ।
‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम हो । अभिभावकहरूले यस एप मार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् ।
बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो स्कीम मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।
नबिल जेन अल्फा बचत खाताबाट बालबालिकाहरुलाई आफ्नो पढाइका साथ साथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यस तर्फ उत्प्रेरित गराउनका लागि विशेष भूमिका निभाउनेछ भन्नेमा नविल बैंकले पूर्ण विश्वास लिएको छ ।
बैंकका अनुसार यस योजना अन्तरगत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्व:चालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धती खातामा तथा बालबालिकाहरुलाई नबिल जेन अल्फा मोबाइल एपको माध्यमबाट काम र लक्ष्य यकिन गरी जिम्मेवारी दिन सकिने तथा काम र लक्ष्य प्राप्ति पश्चात पुरस्कृत पनि गर्न सकिने जस्ता सुविधाहरु प्रदान गरिएको छ ।
नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्षसम्मका बालबालिकाहरु समाहित हुन सक्नेछन् । नबिल जेन अल्फा मोबाइल एप, प्ले स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिनेछ । यस खाता सम्बन्धि विस्तृत जानकारी तथा नबिल जेन अल्फा एपको प्रयोग सम्बन्धि थप जानकारीका लागि नबिल बैंकको वेबसाइट अथवा नबिल बैकको ग्राहक सेवाको आधिकारिक नम्बर ०१५९७००१५ तथा नजिकको शाखाबाट सजिलै प्राप्त गर्न सकिन्छ ।











प्रतिक्रिया