एक वर्षमा ११ सयले घट्यो नेप्से, बजार पुँजीकरणमा २५ अर्बको क्षति

0
Shares

सेयर बजारले वियरित प्रवृत्ति अंगाल्दा एक वर्षमा नेप्से परिसूचक ११ सय १९ अंकले घटेको छ । विसं २०७८ साउन मसान्तमा ३१६०.१ रहेको नेप्से सूचकाङ्क २०७९ साउन मसान्तमा २०४१.१ कायम भएको छ ।

बजार घटेसँगै समीक्षा अवधिमा कुल बजार पुँजीकरणमा २४ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विसं २०७८ साउन मसान्तमा कुल बजार पुँजीकरण ४४ खर्ब १४ अर्ब ११ करोड रहेकोमा २०७९ साउन मसान्तमा २९ खर्ब १४ अर्ब ६८ करोडमा धितोपत्र बजार पुँजीकरण खुम्चिएको हो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६६.८० प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ११.२० प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ४.२० प्रतिशत, होटेलको १.६० प्रतिशत, व्यापारिक संस्थाको ०.४० प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.७ प्रतिशत रहेको छ ।

विसं २०७९ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २३५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।

विसं २०७८ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २२० रहेकोमा १५ वटा नयाँ संस्था थपिएको हो । नेप्सेमा २०७९ साउनसम्ममा सूचीकृत ६ अर्ब ७४ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ६४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

साउनमा ५६ अर्बको धितोपत्र सूचीकृत, साढे पाँच अर्बको आईपीओ अनुमति

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल ५६ अर्ब १० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ३५ अर्ब बराबरको विकास ऋणपत्र, ८ अर्ब ११ करोड बराबरको बोनस सेयर, ५ अर्ब ७४ करोड बराबरको डिबेन्चर, ४ अर्ब ७८ करोड बराबरको साधारण सेयर, २ अर्ब २४ करोड बराबरको म्युचुअल फण्ड र २३ करोड बराबरको हकप्रद सेयर सूचीकृत भएका हुन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ५ अर्ब ३७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । जसमध्ये ३ अर्ब ४ करोड बराबरको डिबेन्चर, १ अर्ब २० करोड बराबरको म्युचुअल फण्ड, ९५ करोड बराबरको हकप्रद सेयर र १७.७० करोड बराबरको साधारण सेयर निष्काशनका लागि अनुमति दिएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार  १८ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।