
राष्ट्रिय उपभोक्ता मञ्चले नेपाली मात्र महान चाड बडा दशैं, तिहार तथा छठ पर्वहरुमा जनतालाई सहुलियत दरमा चिनी उपलव्ध गराउने वातावरण बनाउन भन्दै प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष विशेष आग्रह गरेको छ ।
आपूर्ति मन्त्रालयले चाडबाडलाई लक्षित गरी सहुलियत दरमा चिनी उपलव्ध गराउन अर्थ मन्त्रालयलमा छूट मूल्यमा आयात गर्न सिफारिश गरेकोमा अर्थ मन्त्रालयले वेवास्ता गर्दा उपभोक्ताले बजारमा प्रति किलो ११० रुपैयाँमा किन्न उपभोक्ता बाध्य भएको मञ्चले जनाएको छ । आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिंङ कर्पोरेशन लिमिटेडलाई ३० हजार मेट्रिक टन र नेपाल खाद्य व्यापार कम्पनीलाई १० हजार मेट्रिक टन चिनी छूट मूल्यमा आयात गर्न सफारिश गरेको थियो।
सरकारले दशैं, तिहार तथा छठ लक्षित सुपथ मूल्यका पसलहरु सञ्चालन गरी बजार मूल्य हस्तक्षेप गरी आम उपभोक्तालाई राहत प्रदान गर्ने प्रयास गरेपनि सरकारकै मन्त्रालयहरु बीचमा समन्वय नहुँदा आम नेपाली उपभोक्ताले उपभोग गर्ने चिनी यस पटकको दशैं बजारमा नपाउने अवस्था आएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।
स्वदेशी उद्योगसँग मौज्दातमा ११ हजार मेट्रिक टन मात्र चिनी मौज्दात रहेको भएपनि अर्थ मन्त्रालयबाट चिनी पर्याप्त छ र भाउ बढनुपर्ने कुनै कारण छैन भनि अडान लिएर बजार भाउ बढाउने खेल भई रहेको मञ्चलको दाबी छ ।
मन्चले गरेको अध्ययनमा भारतले निर्यातमा प्रतिबन्ध लगाएपनि नेपालको दक्षिणी सिमावर्ती क्षेत्रबाट दैनिक ३०० मेट्रिक टनको हाराहारीमा तस्कर भई आपूर्ति भइरहेकाले बजारमा चिनी आपूर्ति पर्याप्त भएको उल्लेख छ ।
बैध रुपमा चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्दै आएकोमा यसरी अवैध बाटोबाट आयात गर्दा सरकारलाई ठूलो परिमाणमा राजस्व गुमेको समेत मञ्चले जनाएको छ ।











प्रतिक्रिया