विराटनगरमा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

0
Shares

आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ ।

प्रदर्शनी आगामी माघ १९ गतेदेखि माघ २८ गतेसम्म विराटनगर महानगरपालिका वडा नं २ स्थित शंकरापुर मार्गमा सञ्चालन गरिनेछ ।
नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ को आयोजनामा हुने उक्त प्रदर्शनीमा नम्बर १ सहित मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवं बिक्री समेत हुनेछ

अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी सीएनआई एक्स्पो–२०२३ मा नयाँ सञ्चार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा सामाग्रीको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादन साथै व्यवसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानहरुको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुनेछ ।

कृषि उत्पादन, पर्यटन विकास र स्थानीय उत्पादनको बजार ब्यवस्थापनका लागि समेत महत्वपूर्ण अवसरको रुपमा यो प्रदर्शनी रहने छ । यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नयाँ लगानीकर्ताहरु समेत आकर्षित हुने विश्वास रहेको परिसंघको भनाइ छ ।

स्वदेशी सहित भारत, चीन, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरूबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना रहेको छ ।

प्रदर्शनीमा विविध मनोरञ्जन, सांस्कृतिक कार्यक्रम तथा फनपार्क समेत समावेश गरिनेछ । यस प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार ब्यवस्थापन, उपभोक्ता माझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवद्र्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने परिसंघको अपेक्षा छ ।

प्रदर्शनीमा औद्योगिक उत्पादनहरु, कृषिका आधुनिक यन्त्र, उपकरणहरु, अटो मोवाइल, उत्पादन र सेवा मुलक उद्योगका सामाग्रीहरु, शैक्षिक, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रलाई बिशेष प्राथमिकताका साथ प्रस्तुत गरिनेछ । प्रदर्शनी स्थलमा आधुनिक ४ वटा डोम र ३५० स्टलहरू रहने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ आश्विन २०७९, आइतबार  १४ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।