दशैं विदाको ९ दिनपछि खुलेको सेयर बजारमा सकारात्मक सुरुवात

0
Shares

नेपालीहरुको महान चाड बडा दसैंको विदाका कारण ९ दिनपछि आइतबारदेखि खुला भएको सेयर बजारमा सकारात्मक सुरुवात भएको छ ।

कारोबारको पहिलो ३० मिनेटमा नै नेप्से २१.१२ अंकले बढेर १८७४.८८ बिन्दुमा पुगेको छ । आधा घण्टामा १६८ कम्पनीका १ लाख ५५ हजार कित्ता सेयर ५ करोड १७ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् ।

कारोबारमा आएका १३ उपसमुहगत सूचक मध्ये म्युचुअल फण्ड बाहेक सबैमा हरियाली छाएको छ । लगानी र विकास बैंक २ प्रतिशतभन्दा बढीले बढेका छन् । हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ४२ लाखको सेयर कारोबार हुँदा नबिल बैंक साढे ३८ लाख, अपि पावर ३४ लाख, अरुण काबेली २२ लाख र नागरिक लगानी कोषको १९ लाखको सेयर खरिद बिक्री भएको छ ।

यस अवधिमा सिन्धु विकास बैंकको सेयरमूल्य ५.४७ प्रतिशतले बढ्दा सिंगटी हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, कालिका लघुवित्त र नेपाल इन्स्योरेन्सको सेयरमूल्य ४ प्रतिशतभन्दा धेरै बढेको छ ।  उता माउन्टेन हाइड्रोको सर्वाधिक ३.३१ प्रतिशतले सेयरको भाउ घट्दा अपर हेवाखोला र अपर सोलु जलविद्युत आयोजनको भाउ पनि ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

गत बिहीबार (असोज १३ गते) बाट दसैं विदाका कारण बन्द सेयर बजार असोज २३ गते आइतबारदेखि खुलेको हो । असोज १३ गते नेप्से १६.२९ अंकले वृद्धि भई १८५३.७६ अंकमा पुगेर बन्द भएको थियो । सो दिन नेप्सेमा ६३ करोड २४ लाख सात हजार ६२८ रुपैयाँको सेयर कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ आश्विन २०७९, आइतबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।