राष्ट्र बैंकले आज १८ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दैछ ।

असोज २५ गते मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजेभित्र सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुनेछ ।

केन्द्रीय बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको गरी चार वटा समयावधि भएको ट्रेजरी बिल जारी गर्न लागेको हो । केन्द्रीय बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको २ अर्ब २५ करोड रुपैयाँ र एक वर्ष अवधिका लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

जारी हुने २८ दिन अवधिको ट्रेजरी बिल २०७९ कात्तिक २२ गते, ९१ दिनको ट्रेजरी पुस २६ गते, १८२ दिन अवधिको चैत २८ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० असोज २३ गते परिपक्क हुनेछ ।

 

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिगत हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार  १० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।