साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से घटेको छ । आज नेप्से परिसूचक करिब १० अंक घटेको हो ।
नेप्से परिसूचक ९.६९ अंक घटेसँगै सूचक १८६०.९४ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेर ३६५.४२ बिन्दुमा झरेको छ ।
आज २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँ बराबरको कारोबार भयो । १६ हजार ७७६ पटकको कारोबारमा उक्त रकम बराबरको सेयर कारोबार भएको हो ।
कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये २ वटा बढेका छन् भने ११ उपसमूहको परिसूचक ओरालो लागेको छ । यसदिन बैंकिङ्ग र उत्पादन तथा प्रशोधन मात्र बढेको हो । आइतबार विकास बैंक, वित्त, जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक १ प्रतिशत धेरैले बढेको छ ।
अगामी मंसि ४ गते हुने संघ तथा प्रदेशको चुनावका कारण सेयर बजार बढ्ने आशा लगानीकर्तामा भएपनि बजारले सो अनुसारको प्रतिकृया दिएको छैन । सूचक ३२ सयबाट घटेर साढे १८ सयमा खुम्चिँदा लगानीकर्तालाई मार्जिन कलको त्रास बढेको छ । लगानी योग्य रकमको अभाव, उच्च ब्याजदर तथा समग्र देशको बाह्य अवस्थामा परेको चापका कारण नेप्सेमा आएको १३ सय बढीको गिरावटले लगानीकर्ताहरुमा तनाव थपिएको छ ।
असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कर्जाको साँवा तथा ब्याज तिर्नुपर्ने अवस्था रहेका कारण समेत बजारमा लगानीकर्ताहरुमा एकपछि अर्को समस्या थपिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासलाई लक्षित गरेर बैंकहरुले कर्जाकाे साँवा तथा ब्याज असुलीलाई प्राथमिकता दिँदा त्यसको प्रत्यक्ष असर सेयर बजारका लगानीकर्तालाई पर्न गएको छ ।
पछिल्लो समय नेप्से परिसुचक सुस्त गतिमा घट्दा लगानीकर्तामा अझै तनाव बढेको छ । सूचकसँगै दैनिक कारोबार रकम समेत घट्न थालेपछि लगानीकर्ताहरुमा निराशा पैदा हुन थालेको हो ।

आइतबार कारोबारमा एभरेष्ट बैंक अब्बल देखिएको छ । सर्वाधिक कारोबार भएको बैंकको ८ करोड ४७ लाख ५९ हजार रुपैयाँ बराबरको १ लाख ७६ हजार ६५९ कित्ता सेयर कारोबार भएको छ । त्यसैगरी गरिमा विकास बैंक ४ करोड ८८ लाख, हिमालयन डिष्टिलरी ३ करोड ३२ लाख, शिवम् सिमेन्टस् २ करोड ९९ लाख र रिडी पावरको २ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
अभियान लघुवित्तको सेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर ९.९९ प्रतिशत अर्थात ६६.७० रुपैयाँ बढेर ७३४.३० रुपैयाँ पुगेको छ । यस्तै स्टाण्डर्ड चार्टर्ड बैंक ७.२५ प्रतिशत, एभरेष्ट बैंक ५.१५ प्रतिशत, नेपाल एसबिआई बैंक ३.७७ प्रतिशत र रिलायन्स फाइनान्सको ३.२६ प्रतिशतले सेयरमूल्य बढेको छ ।
आजै अधिकतम कारोबार रेञ्जमा दोस्रो बजारमा कारोबार खुलेको पिपुल्स पावरको सेयरमूल्य १० प्रतिशत (२८.४० रुपैयाँ) घटेर २५५.७० रुपैयाँमा झरेको छ । त्यस्तै, सिटिजन्स बैंक ७ प्रतिशत, आशा लघुवित्त ५.८६ प्रतिशत, मैलुङ्ग खोला जलविद्युत ५.७७ प्रतिशत र पन्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य ५.३५ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया