भारतबाट बढेर आयो इन्धनको मूल्य, बक्यौता र ऋण व्यवस्थापन निगमको चुनौति

0
Shares


भारतबाट पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल, डिजेल तथा हवाई इन्धनको भाउ बढाएर पठाएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाई इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको छ । बढेर आएको मूल्य अनसार निगमलाई डिजेलमा प्रति लिटर ६ रुपैयाँ ३४ पैसा, एलपी ग्यासमा ३२५ रुपैयाँ ४४ पैसा प्रति सिलिण्डर घाटा हुने जनाएको छ ।

यस्तै पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने नाफालाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ३९ करोड नाफा हुने प्रक्षेपण गरेको छ।

भारतबाट नयाँ मूल्य सूची आएपनि निगमले नेपालमा इन्धनको मूल्यमा कुनै परिवर्तन गरेको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको कारणले विगत लामो समयदेखि निगम निरन्तर नोक्सानीमा संचालन भएको निगमको भनाई छ ।

निगमका अनुसार नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब ३३ अर्ब ६० करोड रकम अझै तिर्न बाँकी रहेको छ । निगमले पेट्रोलियम पदार्थ खरिदका लागि सरकारसँग ७ अर्ब रुपैयाँ र राष्ट्रिय वाणिज्य बैकसँग तीन अर्ब ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई केही महिनादेखि व्यवस्थित गर्दै आइरहेको जनाएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं आन्तरिक ऋणको व्यवस्थापन गर्न निगमलाई अझैपनि चुनौतिपूर्ण अवस्था रहेको निगमको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ आश्विन २०७९, सोमबार  ०७ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।