कुमारी बैंक लिमिटेडले कात्तिक २१ गते सोमबार लाभांश अनुमोदन सहितका प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।
बाईसौं वार्षिक साधारण सभा बैंकको केन्द्रीय कार्यालय नक्सालमा बिहान ११ बजे बोलाइएको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको कर प्रयोजनसहित चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ ।
यस्तै सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने।गाभिने तथा नयाँ मर्जर समिति गठन गर्ने भएको छ । यस्तै मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्य अनुमोदन गर्ने तथा सञ्चालक समितिबाट गठित मर्जर समिति मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी पनि दिनेछ ।
साथै, सभाले मर्जर तथा प्राप्तिको सन्दर्भमा डीडीए नियुक्ति गर्ने लगायत आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव उपर पनि छलफल गरी पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, सामाजिक उत्तरदायित्व बहन गर्दा सीमाभन्दा बढी भएको खर्च अनुमोदन गर्ने, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
बैंकले साधारण सभा प्रयोजनार्थ कात्तिक १४ गते बुकक्लोज मिति तोकेको छ । हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् । मर्जर सम्झौतापछि असोज ११ गतेदेखि नै दुबै बैंकको सेयर कारोबार रोक्का रहेकाले असोज १० गतेसम्म कायम रहने लगानीकर्ताले मात्र बैंकको सभामा प्रतिनिधित्व गर्न र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया